काठमाडौं । नेपालबाट विदेशमा मानव कपाल निर्यात हुने गरेको देखिएको छ । नेपालबाट कोरियामा मानव कपाल निर्यात हुने गरेको हो ।
भन्सार विभागबाट प्राप्त गत आर्थिक बर्ष २०८०–८१ को तथ्यांकअनुसार गत आवमा नेपालबाट कोरियामा ७२ लाख तीन हजार रुयियाँको कपाल निर्यात भएको छ ।
अघिल्लो आव २०७९–८० मा ८९ लाख २५ हजार रुपियाँको कपाल निर्यात भएको तथ्यांकमा उल्लेख छ । मान्छेको कपाललाई प्रशोधन गरेर बिभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । सोही अनुसार नेपालबाट कपाल निर्यात भएको हो ।
कपाल नभएका वा पातलो भएका व्यक्तिहरुले यस्तो कपाल प्रयोग गर्छन् । मानव कपाललाई केही प्रकारका कला र हस्तकलाका सामानहरू बनाउन पनि प्रयोग गरिन्छ।
यस्तै, बायोमेडिकल जस्ता उद्योगहरुमा अनुसन्धानका लागि मानव कपालको प्रयोग गरिन्छ । मानव कपाललाई मलको रूपमा प्रयोग गरिन्छ । यसमा नाइट्रोजन हुनाले बोटबिरुवालाई बढ्न मद्दत गर्ने बताइन्छ । बिशेषगरि बगैँचामा यसको प्रयोग गर्ने प्रचलन छ ।
यस्तै, केशको संरचना र गुणहरू अध्ययन गर्न पनि वैज्ञानिक अनुसन्धानमा पनि प्रयोग गरिन्छ। मानव कपाललाई पुनः प्रयोग गरी विभिन्न उत्पादनहरू बनाउन सकिने पनि जानकारवालाहरु बताउँछन् ।
टेक्सटाइल उद्योगमा पनि यसको प्रयोग हुने गर्छ । केही विशेष प्रकारका कपडाहरू बनाउनका लागि मानव कपालको फाइबर प्रयोग गर्ने गरिन्छ । मानव कपाललाई पानी वा हावा फिल्टर गर्नका लागि प्रयोग गर्न सकिन्छ । यसको सानो र नरम संरचना हुनेछ । त्यसले यसमा सहयोग पुग्ने बताइएको छ ।