काठमाडौं । नेपाली बजारमा डलरको मूल्यले निरन्तर कीर्तिमानी रेर्कड राख्दै आएको छ । डलरको मुल्यले गत साउन ४ गतेदेखि पटक–पटक नयाँ रकेर्ड राख्दै आएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । यसअघि गत जेठ ८ गते एक डलरको खरिद मूल्य १३३.५५ र बिक्री मुल्य १३४.१५ रुपियाँ थियो, त्यो त्यस बेलासम्मको नयाँ रेकर्ड नै थियो । त्यसपछि घटेको डलरको मूल्यले गत साउन ४ गते पुनः नयाँ रेर्कड कायम गरेको थियो ।
साउन ४ गते राष्ट्र बैंकले एक डलरको खरिद मूल्य १३३.५७ रुपियाँ र बिक्री मूल्य १३४.१७ रुपियाँ तोकेको थियो । त्यसयता त्यो थप बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । साउन २० गतेसम्म आउँदा एक डलरको खरिद मूल्य १३३.७१ रुपियाँ र बिक्री मूल्य १३४.३१ रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
यस अवधिमा डलरको बिक्री मूल्य साउन ५ देखि ७ गतेसम्म थप बढेर १३४.१७ रुपियाँ कायम भएको थियो । त्यसपछि साउन ८ गते घटेर १३४.१६ रुपियाँमा सीमित भएको एक डलरको मूल्य साउन ९ गते १३४.२१ रुपियाँ र साउन १० गते १३४.२६ रुपियाँ पुगेको थियो । त्यसपछि साउन ११ मा घटेर १३४.२२ रुपियाँमा सिमित भएको डलरको मुल्य साउन १२ गतेदेखि १६ गतेसम्म बढेर १३४.२७ रुपियाँ पुगेको थियो । त्यसपछि साउन १७ गते घटेर १३४.२६ रुपियाँमा झरेको डलरको मुल्य साउन १९ र २० गते पुनः बढेर १३४.३१ रुपियाँ कामय भएको छ, यो हालसम्मकै उच्च हो ।
महंगी बढेपछि अमेरिको केन्द्रीय बैंकले २०२३ जुलाईमा डलरमा दिने व्याजदर ५.५ प्रतिशत पुर्याएको थियो । त्यस भन्दा पहिला डलरमा दिने व्याजदर पाँच प्रतिशत भन्दा कम थियो ।
अमेरिकाको केन्द्रीय बैंकले अझै पनि व्याजदर घटाएको छैन । साथै, घटाउने संकेत पनि गरेको छैन । त्यसले गर्दा अमेरिकाको केन्द्रीय बैंकमा डलर निक्षेप राख्ने लगानीकर्ताको संख्यामा कमी आएको छैन ।
यसैगरी लन्डन, क्यानडा, युरोपियन लगायतका देशको केन्द्रीय बैंकले पनि डलरमा दिने व्याजदर बढाएका छन् । त्यसले गर्दा डलर ‘होल्ड’ भएर यसको आपूर्ति श्रृंखला समेत प्रभावित भएको छ । त्यसले गर्दा यसको मूल्य बढेको बताइन्छ ।
व्याजदर बढाएर बिभिन्न केन्द्रीय बैंकहरुले बजारमा छरिएका डलर तानेर राखेका छन् । डलरलाई एउटा लगानीको उपकरण पनि मानिन्छ । डलरमा लगानी गर्नु सुरक्षित पनि मानिन्छ । त्यसले गर्दा यसको माग बढेको छ । तर, त्योअनुसार आपूर्ति भने हुन सकेको छैन । त्यसको असरले यसको मुल्य बढेको विज्ञहरु बताउँछन् ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (आबद्ध) छ । भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ । भारतमा डलरको मूल्य घट्दा नेपालमा पनि घट्ने गर्छ ।
नेपाल र भारतमा डलरको मुल्य बढ्नुको अर्थ भारतीय र नेपाली मुद्रा कम्जोर हुनु पनि हो । डलरको मूल्य घटेमा भारतीय र नेपाली मुद्रा बलियो भएको मान्न सकिन्छ ।
डलर अमेरिकाको केन्द्रीय बैंकले निष्काशन गर्ने एउटा मुद्रा हो । जसरी नेपाल राष्ट्र बैंकले ‘रुपियाँ’ मा नोट निष्काशन गर्छ । त्यसरी नै अमेरिकाको केन्द्रीय बैंकले डलरमा नोट निष्काशन गर्छ । तर, यसले अन्तरराष्ट्रिय भुक्तानीका लागि मान्यता पाएको छ, नेपाल लगायतका अन्य देशका मुद्राले पाएका छैनन् । त्यो अवस्थामा अन्तरदेशीय तथा अन्तरराष्ट्रिय व्यापार, व्यवसाय लगायतका बस्तु तथा सेवा खरिद बिक्रीको भुक्तानी डलरबाटै गर्नुपर्छ । अन्य देशका मुद्राले यस्तो मान्यता पाएका छैनन् ।
साथै, यसलाई लगानीका लागि सुरक्षित सम्पत्ति (एसेट) पनि मानिन्छ । ठूला ठूला लगानीकर्ताले डलर किनेर होल्ड गर्ने गर्छन् । नोट निष्काशन गर्न पनि डलर सुरक्षण राख्न पाइने व्यवस्था छ । त्यो अनुसार सबै देशका केन्द्रीय बैंकहरुले पनि डलर किनेर राख्ने गर्छन । अमेरिका सरकारकै सुरक्षण अर्थात् ‘व्याकअप’ भएका कारण यसमा लगानीकर्ताको आर्कषण उच्च छ । त्यो अवस्थामा माग र आपुर्तिको सिद्धान्तअनुसार पनि यसको मुल्य थप घट हुने गर्छ । आपुर्ति राम्रो भएको अवस्थामा यसको मुल्य घट्छ । आपुर्ति न्यून भएको अवस्थामा यसको मुल्य बढ्ने गर्छ ।
डलरको मुल्य बढ्दा नेपाललाई फाइदा–बेफाइदा दुवै हुनेछन् । डलरको मुल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी बढ्ने छ । किनकी, त्यसबाट डलरमा आम्दानी हुन्छ । त्यो अवस्थामा डलरलाई नेपाली रुपियाँमा सटही गर्दा धेरै आम्दानी हुनेछ ।
तर, आयात, विदेशी ऋण लगायतका बैदेशिक भुक्तानी भने महंगो हुनेछ । नेपालले खर्बौ रुपियाँ विदेशी ऋण तिर्नूपर्ने दायित्व छ । साथै, बार्षिक १४–१५ खर्ब रुपियाँको बस्तु आयात हुने गर्छन । त्यस मध्ये अधिकांश भुक्तानी डलरमा नै गर्नुपर्छ । त्यो अवस्थामा डलरको मुल्य बढ्दा आयात र विदेशी ऋणको दायित्व पनि महंगो हुने विज्ञहरु बताउँछन् । यसरी डलरको मुल्य बढ्दा फाइना–बेफाइदा दुवै छन् ।
तर, समग्रमा डलरको मुल्य घटेको नै राम्रो हुने विज्ञहरु बताउँछन् । नेपाली मुद्रालाई बलियो बनाउँदै जानुपर्ने उनीहरुको भनाइ छ । त्यसका लागि अर्थतन्त्र दिगो रुपमा बलियो हुन आवश्यक रहेको उनीहरु बताउँछन् ।