काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिलो महिना अर्थात् साउनमा लगानीकर्ताले शेयर कारोबारमा भएको नाफाबाट सरकारलाई चार अर्ब २३ करोड ७८ लाख रुपियाँ पुँजीगत लाभकर तिरेका छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको साउनमा ४० करोड आठ लाख ९१ हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो । तर, चालु आवको साउनमा त्यो भन्दा पनि धेरै यस्तो कर संकलन भएको देखिन्छ । गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । तर, अहिले एक महिनामै त्यही हारहारीमै कर संकलन भएको देखिन्छ । सम्भवतः मासिक तथ्यांकका आधारमा यस्तो कर संकलन हालसम्मकै उच्च हो ।
बिशेषगरि गत साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक उच्च दरमा बढ्यो । असार मसान्तमा नेप्से सुचक २२४०.४१ विन्दुमा थियो । साउन मसान्तसम्म आउँदा त्यो तीन हजार विन्दुमा पुगेको थियो । यसरी एक महिनामा नेप्से पसिुचक ७६०.३९ अंकले बढ्यो ।
बिशेषगरी सत्ता परिवर्तनसँगै एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएपछि नेप्से बढेको थियो । पौडेल अर्थमन्त्री भएको बेला शेयर बजारले नयाँ रकेर्ड नै राख्ने गरेको छ । यसअघि नेप्से ३२ सय विन्दुमा पुग्दा उनी नै अर्थमन्त्री थिए । अहिले पुनः पौडेल अर्थमन्त्री हुदाँ सोही मनोविज्ञानका कारण लगानीकर्ता उत्साहित हुदाँ शेयर बजार बढ्न गएको थियो । साथै, साउनमा दैनिक ३० अर्ब रुपियाँ हारहारीमा शेयर कारोबार भएको थियो ।
साउन महिनाभरीमा भने चार खर्ब १८ अर्ब २० करोड ३० लाख रुपियाँको शेयर कारोबार भएको थियो । यसरी कारोबार र नेप्से परिसूचक उच्च मात्रामा बढ्दा सरकारलाई तिर्ने कर पनि बढी हुन गएको हो ।
लगानीकर्ताले नाफा कमाउन भनेको नै शेयर बजार बढेको बेलामा हो । त्यसमाथि कारोबार पनि उच्च्च हुदाँ पुँजीगत लाभकर धेरै संकलन भएको जानकारवालाहरु बताउँछन् ।
अघिल्लो आव २०७९–८० मा दुई अर्ब ९७ करोड पाँच लाख ८९ हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो । त्यसअघि आव २०७६–७७ मा ९८ करोड ५२ लाख ८६ हजार, आव २०७७–७८ मा १४ अर्ब १३ करोड ६१ लाख र आव २०७८–७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपियाँ यस्तो कर उठेको थियो । पहिला नेप्से ३२ सय विन्दुमा पुग्दा पनि यस्तो कर संकलन उच्च थियो ।
शेयर कारोबार गर्दा हुने खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर तिर्नुपर्छ । खरिद गरेको एक बर्षपछि बिक्री गरेको शेयरमा भएको खुद नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । खरिद गरेको एक बर्ष भित्रै बिक्री गरेको शेयरमा हुने खुद नाफामा ७.५ प्रतिशत पुँजीगत नाफा तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नुपर्छ । शेयर कारोबारमा नाफा नभएमा भने कर तिर्नुपर्दैन ।