अटोमोबाइल क्षेत्र उत्साहजनक अवस्थामा छैन । प्रतिकूल आर्थिक तथा व्यावसायिक परिस्थितिका बीच पनि लामो समयदेखि यस क्षेत्रमा रहेका धेरै व्यवसायी आशा र सम्भावना हेरी आफ्नो व्यापार व्यवसायलाई निरन्तरता दिइरहेका छन् । सकसपूर्ण अवस्थामा रहेका उनीहरुले चालू आर्थिक वर्षको मौद्रिक नीतिले राहत दिने आशा गरेका थिए । तर, मौद्रिक नीति पनि सोचेजस्तो आउन सकेन । अर्कोतर्फ अटोमोबाइल क्षेत्रमा नै विद्युतीय सवारी साधन (ईभी) को व्यापार भने उत्साहजनक छ । विशेषगरी चिनियाँ ब्राण्डका नयाँ ईभीहरु आउने क्रमले आकर्षणसँगै जोखिम पनि बढ्दै गएको छ । यही परिस्थितिमा हरेक वर्ष आयोजना हुने गाडीहरुको ‘कुम्भ मेला’ मानिने ‘नाडा अटो शो’ र त्यसपछिको चाडपर्वले अटो बजार केही चलायमान हुन्छ कि ? भन्ने संकेत पनि देखिएको छ । अटोमोबाइल क्षेत्रको यो परिदृश्यलाई नाडा अटोमोबाइल एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसरी हेरेका छन् ?
समग्रमा अटोमोबाइल बजार विषम अवस्थामा छ । अटोमोबाइलको बजारमा कति प्रतिशतको गिरावट आएको छ ? रोजगारीमा गिरावट, व्यवसायीहरुको पलायनको स्थिति के छ ?
समस्त अटोमोबाइल क्षेत्र अहिले निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । कुनैबेला यो क्षेत्रले देशको जीडीपीमा २१ प्रतिशतसम्म योगदान गथ्र्यो । तर आज यो क्षेत्रमा ६८ प्रतिशतसम्मले गिरावट आएको छ । अटोमोबाइल क्षेत्रमैत्री नीतिको कमीले थुप्रै व्यवसायी पलायन हुने अवस्थामा पुगिसकेका छन् । स्थिति यति भयावह छ कि उहाँहरु आफ्नो व्यवसाय बन्द गरी विदेश जानुपर्ने स्थिति आएको छ । व्यापार बन्द हुनु भनेको देशको रोजगारीमा समस्या आउनु हो ।
ईभीमा लागू गरिएको नीति सकारात्मक छ । यसले ईभीको लोकप्रियता पनि बढाएको छ । तर अटोमोबाइल क्षेत्र भनेको ईभी मात्र नभई ठूलो संख्यामा रहेको पार्टस्, लुब्रिकेन्ट्स, टायर, ट्युब पनि हो । राज्यले कुनै पनि क्षेत्रप्रति भेदभाव राख्नुहुन्न । सबै क्षेत्रले यो देशको आर्थिक विकास, रोजगारी सिर्जना, राजश्वमा पु¥याएको योगदानलाई मूल्यांकन गर्नुपर्छ ।
बजेटमा भन्दा पनि मौद्रिक नीति अनुकूल आउने तपाईंहरुको आशा थियो । त्यस्तो आएन । मौद्रिक नीतिले अटो क्षेत्रलाई थप लाभ–हानि के गर्ला ?
सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई मौद्रिक नीतिप्रति ठूलो आशा र विश्वास थियो । अबको नीतिले नाजुक अवस्थामा रहेको यो व्यवसायलाई सकारात्मक बाटोमा लग्नेछ भन्ने लागेको थियो । तर त्यस्तो नीति आउन सकेन । कम्तीमा अटो लोनमा फरक खालको प्रावधान नराखिदिएको भए हुन्थ्यो । यस्ता धेरै कुराले गर्दा अहिले अटोमोबाइल क्षेत्रको भविष्य थप अन्योलमा परेको छ ।
मौद्रिक नीतिले पुँजीबजार, बैंकिङ क्षेत्र, निर्माण क्षेत्रलाई सम्बोधन गर्नु तर तपाईंहरुलाई उपेक्षा गर्नुको कारण के होला ?
सम्बन्धित सबै निकायमा हामीले आफ्नो सुझाव प्रस्तुत गरेका छौं । मलाई लाग्दैन संगठित रुपमा नाडाले यो विषयमा कुनै कसर बाँकी छोडेको छ । अटोमोबाइल क्षेत्रका समस्या के हुन् ? कसरी समाधान गर्ने ? कसरी रोजगारी जोगाउने ? कसरी व्यवसायीलाई पलायन हुन नदिने ? यी सबै कुरा अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्म राखेका थियौं । यति गर्दागर्दै पनि अनुकूल नीति नआउनुको अर्थ अटो क्षेत्र प्राथमिकतामा नपर्नु हो । देश विकास र जनताको सुविधाका लागि निर्माण क्षेत्रको जति महङ्खव छ, त्यति नै यातायात क्षेत्रको पनि छ । बदलिँदो परिस्थितिमा सवारीसाधन विलासिताको साधन नभएर अत्यावश्यक नै भइसकेको छ । जसरी मौद्रिक नीतिले केही क्षेत्रलाई प्राथमिकता दिएको छ, त्यसरी नै यस क्षेत्रलाई पनि दिएको भए अटोमोबाइल व्यवसायी, कर्मचारी, प्रविधिक, उपभोक्ता सबैलाई राहत नै हुन्थ्यो । लक्ष्यअनुसार राजश्व संकलन नभएर सरकारलाई दबाब परेको बेला त्यसमा सुधार पनि हुन्थ्यो ।
अटोमोबाइल क्षेत्रको अवस्था राम्रो नरहेको बताउँदै गर्दा ईभीको बिक्रीले नयाँ तरंग ल्याएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
ईभीमा दिएको सहुलियत र खरिदमा सहजता हुनु राम्रो कुरा हो । यसलाई निरन्तरता दिनुपर्छ । ईभीको आयातलाई प्रोत्साहन गर्दै गर्दा हामीले पर्याप्त विद्युतीय पूर्वाधार निर्माणमा बढी ध्यान दिनुपर्छ । अहिले निजी क्षेत्रले आफ्नै पहलमा विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । तर त्यो एउटा सामाजिक उत्तरदायिङ्खवको हिसाबले मात्रै अघि बढिरहेको छ । यो लामो समयसम्म चल्न सम्भव हुँदैन । यससम्बन्धी सकारात्मक नीति ल्याउनु जरूरी छ । यसको विस्तारमा सरकारको भूमिका अहम् हुन्छ ।
त्यस्तै, ईभी ल्याउँदै गर्दा त्यसको बिक्रीपछिको सेवा पनि चुस्त र प्रभावकारी हुनुपर्छ । ग्राहकले भोलि सेवा पाउन सकेनन् भने वितृष्णा बढ्न सक्ने अवस्था आउँछ । त्यो आउन नदिनु व्यवसायी र सरकार दुवैको दायित्व हो ।
तर यसले आइस इन्जिनमा निजी सवारीसाधनको भविष्यमाथि नै प्रश्न उठाएको छ । नेपालमा लामो समयदेखि रहेका पुराना ब्राण्डलाई निकै असर गर्छ कि ?
आइस इन्जिनमा निजी सवारीसाधनमा हाल लागू भएको प्रतिकूल नीतिले यो सेग्मेटको भविष्य अवश्य नै अन्धकार भएको छ । अहिले आइस इन्जिन ब्राण्डरु निकै संघर्षरत छन् । तर योभन्दा ठूलो सम्पूर्ण इको–सिस्टम नै समस्यामा छ । आइस इन्जिनमा निजी सवारीसाधन मात्र नभई यससँग जोडिएका पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ट्युब आदि क्षेत्र, जो अझै ठूलो संघर्षमा छन् । उनीहरुलाई अझै कृत्रिम असर परेको छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।
गाडीहरु बिक्री गर्दा ग्राहकको दीर्घकालीन हित र बिक्रीपछिको सेवालाई विशेष ध्यान दिनुपर्छ भन्ने मान्यता छ । नयाँ परिदृश्यले नेपालको अटोमाबाइल क्षेत्रमा नयाँ कल्चर विकास हुन लागेको हो वा विकृति शुरू हुन ?
त्यो आशंका यस क्षेत्रमा छ । सबै ब्राण्डले यसमा ध्यान दिनेछन् भन्ने मलाई लाग्छ । नेपाली ग्राहक आफैंमा सक्षम र सचेत पनि छन् छन् । उनीहरु आफ्नो हित र लगानीको सुरक्षाबारे जानकार छन् । नेपालका व्यवसायी पनि जिम्मेवार र अनुभवी हुनुहुन्छ । गाडीको व्यवसाय गर्दा पर्याप्त तयारी, पूर्वाधार, जनशक्ति, लगानी गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । त्यसकारण यहाँले भनेको स्थिति आउँछ जस्तो मलाई लाग्दैन । बाँकी त समयले बताउँदै जाला ।
तपाईंको आफ्नो ब्राण्ड मारूती सुजुकी पनि ईभीमा आउने संभावना के छ ?
सुजुकीका पनि ईभी पाइपलाइनमा छन् । धेरै चाँडो यो विषयमा थप विवरण आउँछ ।
नेपाल म्यानुफ्याक्चरिङमा जानुपर्छ भन्ने अवधारणाअनुसार ‘सीकेडी’ गर्ने काम शुरू भएको छ । गाडी निर्माण गर्ने कुरामा तपाईंले देखेका चुनौती र सम्भावना के–के हुन् ?
स्वदेशमै गाडी उत्पादन गर्न सक्नु राम्रो हो । यसले रोजगारी सिर्जना गर्नुका साथै देशको आर्थिक विकासलाई बढावा मिल्छ । भोलिका दिनमा नेपालमा आफ्नै ब्राण्ड विकास गर्ने, आयात कम गर्ने ढोका खुल्छ । हामीले यो पनि बुझ्न जरूरी छ कि यसमा धेरै लगानीको आवश्कता हुन्छ र प्रतिफल आउन समय पनि लाग्छ । लगानीको सुरक्षा निश्चित पनि यति नै महत्वपूर्ण विषय हो । त्यसका लागि स्थिर नीतिको आवश्यकता हुन्छ । यसमा राज्यका संयन्त्रले सहजीकरण गरिदिनुपर्छ ।
अटो पार्ट्सको उत्पादनमा पनि नेपालले सुस्त गति लिन थालेको छ । टायर, ब्याट्री, लुब्रिकेन्ट्सलगायतका धेरै वस्तु नेपालमा उत्पादन भए पनि आयात न्यून गर्ने र निर्यात नै गर्न सक्ने तहमा कहिले पुग्न सकिएला ?
यसमा २÷३ वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो कुरा नवीनतम प्रविधिमा लगानी गरी उत्पादन क्षमतामा सुधार गर्नुपर्छ । अर्को कुरा उत्पादन बढाउन सरकारको तर्फबाट कर छुट, सहुलियत र प्रोत्साहन योजना ल्याउन आवश्यक छ । तेस्रो कुरा स्थानीयस्तरमा दक्ष जनशक्ति विकास गरी गुणस्तरीय उत्पादनको सुनिश्चितता गर्नुपर्छ । चौथो कुरा घरेलु उत्पादनलाई प्रोत्साहन गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन बजार रणनीति तयार गर्नुपर्छ । यी उपाय प्रभावकारी रुपमा लागू भए अटोमोबाइलसम्बन्धी धेरै अरु उद्योग पनि खुल्छन् । भएका उद्योगको पनि विकास हुन्छ र नेपाल आयात कम गरी निर्यात गर्न सक्ने तहमा पुग्न सक्छ ।
तपाईं नाडाको अध्यक्ष भएपछि पहिलोपटक अटो शो आयोजना हुन लागेको छ । विगतको भन्दा यो मेला के कुराले विशेष वा फरक हुने सम्भावना छ ? साथै, नाडा अटो शोपछि अटोमोबाइल बजारमा केही लय आउने सम्भावना देख्नुभएको छ ?
यतिबेला अटोमोबाइल क्षेत्र शोकमा छ । किनकि जुन रफ्तारमा अटोमोबाइल इण्ड्रष्टी अघि बढिरहेको थियो, त्यसमा ब्रेक लागेको अवस्था छ । वर्षमा जीडीपीमा १७÷१८ प्रतिशतसम्म योगदान पु¥याइरहेको यो क्षेत्र अहिले घटेर ४ देखि ५ प्रतिशतमा झरेको छ । कुनै वर्ष त २१ प्रतिशतसम्म पनि पुगेको अवस्था थियो । यसकारण यो हाम्रा लागि शोकको घडी हो । यस्तो अवस्थामा पनि व्यवसायीको व्यवसायलाई केही सपोर्ट गर्ने गरी, नियमित कार्यक्रमलाई निरन्तरता दिने गरी नाडा अटो शो गर्दैछौं । भन्नैपर्दा यसपटक ठूलो खर्च गरेरभन्दा पनि खर्चलाई कसेर थोरै खर्चमा पनि धेरै लाभ लिने गरी, आवश्यकता के हो ? त्यसमा मात्र फोकस हुँदैछौं ।
मेरो कन्सेप्टमा हुने पहिलो नाडा अटो शो विशेष हुनेछ । पहिले–पहिले हुने अटो शो र अहिले हुने अटो शो धेरै भिन्न हुनेछ, जुन कुरा तपाईंहरुले अटो शो अवलोकन गरिसकेपछि भन्नुहोला । मेरो मुख्य लक्ष्य भनेको ठूलो खर्च गरेर अटो शो गर्नेभन्दा पनि त्यो पैसालाई व्यवसायीको सीप विकास र रोजगारीमै लगाउने भन्ने छ ।