काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १३ वटाको सफल आरोहण गरीसकेका छन् । शेर्पाले विश्वका १४ वटै उच्च हिमालहरु आरोहण गर्न अब शिशपाङ्मा हिमाल मात्र बाँकी रहेको छ ।
चीनमा रहेको शिशपाङ्मा हिमाल विश्वकै १४औं अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बन्ने छन् । हाल विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबै भन्दा कान्छो आरोहीको नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा रहेको छ ।
उनले सन् २०१९ मा ३० वर्षको उमेरमा १४ वटै हिमालको सफलतापूर्वक आरोहण गरी विश्वमै १४ वटै हिमालहरु आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बन्न सफल भएका थिए । उनले बनाएको रेकर्डलाई तोड्दै निमाले उक्त रेकर्ड आफनो नाममा राख्न अब एउटा मात्र हिमाल आरोहण गर्न बाँकी रहेको छ ।
शिशपाङ्मा हिमालको आरोहण गर्न उनी आगामी सेप्टेम्बरको दोस्रो हप्ता चीनतर्फ जाने तयारीमा रहेका सेभेन समिट ट्रेक कम्पनीले जानकारी दिए ।उनले यसअघि कञ्चनजङ्घा हिमालको सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेका थिए । शेर्पाले आफनो क्लाइमिङ पार्टनर पासाङ नुरबु शेर्पासँगै १३ वटै चुचुरोमा पाइला टेकेका हुन् भने बाँकी रहेको शिशपाङ्मा हिमालमा पनि उनीसँगै आरोहण गर्न तयारीमा छन् ।
उनी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्ने सबैभन्दा कान्छोको कीर्तिमान बनानेका थिए । शेर्पाले गएको अप्रिल १२ तारिखका दिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको थिए । उनले १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका थिए ।
विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी शेर्पा विश्वमै सबैभन्दा कान्छो आरोही बन्ने होडमा छन् । निमा रिन्जी सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् ।
शेर्पाले दर्जनौं चुचुराको आरोहणबाट धेरै रेकर्ड राखिसकेका छन् । साथै उनी नयाँ पुस्तालाई प्रेरणा दिने र पर्वतारोहणलाई पुनःपरिभाषित गर्ने अभियानमा रहेका छन् ।
सन् २०२२ मा उनले १६ वर्षको उमेरमा विश्वको आठौं अग्लो हिमाल मनास्लुको चुचुरोमा पुगेर विश्वका आठ मिटर अग्ला १४ वटा चुचुराहरूमध्ये पहिलो पटक आरोहण गरेका थिए । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका थिए ।