काठमाडौँ । नयाँ बुटवल–नेपाल भारत सीमापार प्रसारणलाइन निर्माणका लागि अमेरिकी संस्था एनसीसीअन्तर्गतको नेपालको निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए–नेपाल)ले ठेक्का सम्झौता गरेको छ ।
एमसीए–नेपालले शुक्रबार एक बिशेष समारोहका बीच १८ किमी लामो उक्त प्रसारणलाइन बनाउन भारत ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।
सरकारको १९.६७ करोड डलर लगानी र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को ५० करोड डलर अनुदानमा ४०० केभी क्षमताका ३१५ किमी लामो चार प्रसारणलाइन, ४००–४०० केभी क्षमताका तीन सवस्टेशन र केही सडक खण्ड मर्मत गरिँदैछ ।
त्यसमा प्रसारण लाइन अन्तरगत नयाँ बुटवलदेखि नेपाल भारतीय सीमासम्म पनि १८ किमी लामो प्रसारण लाइन बनाइँदैछ । सोही परियोजना बनाउन आज ठेक्का सम्झौता भएको हो ।
एमसीसी कार्यान्वयनमा प्रवेश गरेको आज एक बर्ष पुगेको छ । ३० अगस्ट २०२३ बाट यो परियोजना कार्यान्वयनमा प्रवेश गरेको थियो । आज एक बर्ष पुगेको अवसरमा उक्त ठेक्का सम्झौता गरिएको एमसीए–नेपालले जनाएको छ ।
एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्ष मनाइरहेको वर्तमान क्षणमा हासिल यो कोशेढुङ्गाले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको दृढ प्रतिवद्धता प्रतिविम्बित गर्ने उसको भनाई छ ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो एक करोड २३ लाख ६० हजार अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भने, ‘१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहद् २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’
एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झोता हामीले गरिरहेको प्रगतिको स्पष्ट सूचक हो । छिटो निर्माण सम्पन्न गर्नका लागि वृहद् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमि सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिवद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ ।’
बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसीए–नेपालले तयारी गरिरहेको छ । तीन सवस्टेशनको भने यसअघि नै ठेक्का सम्झौता भइसकेको छ । साथै, सडक मर्मतको ठेक्का आव्हान गर्न पनि बाँकी छ ।