सार्वजनिक ऋण बढेर २५ खर्ब २८ अर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा रु. ८६ हजार ७०१ बोझ

Advertisement

काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म तिरेको ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपियाँ बक्यौता बाँकी रहेको हो । 

यो राष्ट्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४.३२ प्रतिशतको हिस्सा हो । 

Advertisement

कूल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४८.८८ प्रतिशत अर्थात् १२ खर्ब ३५ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋणको हिस्सा ५१.१२ प्रतिशत अर्थात् १२ खर्ब ९२ अर्ब ७१ करोड ९६ लाख रुपियाँ रहेको छ । 

चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको सार्वजनिक ऋणको आकार ९४ अर्ब ५२ करोड १६ लाख रुपियाँले बढेको छ । २०८१ साउन १ गते मुलुकको तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकार २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा आन्तरिकतर्फ ५५ अर्ब रुपैयाँले ऋण थपिएको छ भने बाह्यतर्फ ३९ अर्ब ५२ करोड १७ लाख रुपियाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

भदौ मसान्तसम्म कायम कूल सार्वजनिक ऋणलाई कूल २ करोड ९१ लाख ६४ हजार ५७८ जना जनसंख्याले भाग गर्दा एक नेपालीको भागमा ८६ हजार ७०१ रुपैयाँ ८० पैसा ऋण पर्ने देखिन्छ । 

Advertisement