काठमाडौं । १६औं संस्करणको नाडा अटो शो २०२४ आज सम्पन्न हुँदैछ । गत भदौ ११ गतेदेखि काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा शुरु भएको अटो शो छैटौं दिनमा आज सम्पन्न हुन लागेको हो ।
७५ लाख अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको अटो शोमा सो लक्ष्य हिजो पाँचौं दिनमा नै पूरा भएको आयोजक अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
भदौ १५ गते शनिवारसम्ममा करिब ७५ हजार अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरिसकेको अटो शोका सभापति अनुपकुमार बरालले कर्पोरेट नेपाललाई जानकारी दिए । योसँगै यो वर्षको अटो शोको लक्ष्य पूरा भएको र भव्य सफल भएको समेत सभापति बरालको दाबी छ ।
‘अटो शो भव्य रुपमा सफल भएको छ । अवलोकनकर्ताहरुको फ्लो मात्र होइन सवारी बुकिङ तथा बिक्रीमा समेत ऐतिहासिक सफलता मिलेको छ । यो नाडाको सफलता हो’ बरालले भने । बरालका अनुसार शनिबार मात्र १९ हजार ८ सय जना अवलोकनकर्ताहरुले अटो शोको भ्रमण गरे । अघिल्लो हप्ता मंगलबारदेखि जारी अटो शोमा शनिबारसम्मा सबै ब्राण्ड तथा कम्पनीहरुका गरी करिब २४ सय सवारी साधनहरुको बुकिङ भएका छन् ।
‘अटो शोको आज अन्तिम दिन आइतबार ८ देखि १० हजार अवलोकनकर्ताहरुको भ्रमण अनुमान गरिएको थियो । तर, विहानै देखि पानी परेकाले प्रभावित हुनेभयो । यद्यपि, हाम्रो लक्ष्य शनिबार नै पुरा भइसकेको छ’ बरालले भने ।
खासगरी दशैंतिहार र छठ जस्ता मुख्य पर्वलाई लक्षित गर्दै नाडाले प्रत्येक वर्ष नाडा अटो शोको आयोजना गर्ने गरेको छ । यसवर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन आयोजना गरिएको अटो शोमा चार पाङ्ग्रेका २४ वटा, दुईपाङ्ग्रेका १९ वटा, ३३ वटा अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, ब्याट्री तथा एसोसरिज ब्राण्ड तथा कम्पनीहरु गरी १३० वटा भन्दा बढी स्टलहरु तथा विक्री केन्द्र छन् ।