‘खराब कर्जा’ को उच्च जोखिममा ८ वटा वाणिज्य बैंक

Advertisement

काठमाडौं । ब्याड डेफ्ट अर्थात् खराब कर्जाको उच्च जोखिममा  ८ वटा वाणिज्य बैंकहरु देखिएका छन् । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स् बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक खराब कर्जा (एनपीएल) मा उच्च जोखिममा देखिएका हुन् । यी बैंकहरुको खराब कर्जाको दर ४ प्रतिशतमाथि रहेको छ । 

Advertisement

बैंक तथा वित्तीय संस्थाहरुले गरेको कूल लगानीको ५ प्रतिशतभन्दा बढी खराब कर्जामा परिणत भएमा त्यस्तो स्थितिलाई नेपाल राष्ट्र बैंकले जोखिमपूर्ण मानेको छ । यस्तो सीमा पार गर्ने जुनकुनै बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकबाट प्राप्त हुने सेवा सुविधा तथा निक्षेपमा सहभागी नगराउने केन्द्रीय बैंकको व्यवस्था छ । तर, राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार ८ वटा वाणिज्य बैंकहरुको एनपीएल झण्डै ५ प्रतिशत हाराहारी पुगिसकेको देखिन्छ । 

कुन बैंकको एनपीएल कति ?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकको एनपीएल दर समान ४.९५ प्रतिशत छ । यो केन्द्रीय बैंकले तोकेको जोखिमपूर्ण सीमाको अत्यन्त नजिक हो । 

यसैगरी, हिमालयन बैंकको एनपीएल ४.९१ प्रतिशत रहेको छ । यो पनि निकै जोखिमपूर्ण अवस्था हो । 

यस्तै, प्रभु बैंकको खराब कर्जाको दर ४.७८ प्रतिशत रहेको छ भने लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.६७ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.३७ प्रतिशत र सिटिजन्स् बैंकको ४.०७ प्रतिशत रहेको छ । 

कूल २० वटा वाणिज्य बैंकहरु मध्ये बाँकी १२ वटा बैंकको खराब कर्जाको दर भने ४ प्रतिशत भन्दा कम रहेको छ । 

२०८१ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत एनपीएल दर ३.७६ प्रतिशत रहेको छ । तथापि, बैंकहरुको नेट एनपीएल (खुद खराब कर्जाको दर) भने जम्मा १.०६ प्रतिशत मात्र रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यता लगानी नउठेर हैरान भएका बैंक तथा वित्तीय संस्थाहरु एनपीएलको ५ प्रतिशतको लक्ष्मण रेखालाई मान्न तयार छैनन् । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबी बैंकका सीईओ सुनिल केसी दक्षिण एसियामा नै नेपालका बैंक तथा वित्तीय संस्थाहरुको पर्फमेन्स उत्कृष्ट भएकाले एनपीएलमा बैंकहरुको स्थिति दाज्न नहुँने बताउँछन् । 

मौद्रिक नीति अघिदेखि नै यस विषयमा बोल्दै आएका सीईओ केसीले बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान लगायत छिमेकी मुलुक भारतका बैंकहरुको भन्दा पनि नेपालका बैंकहरुको एनपीएल दर कम भएको दाबी गरेका छन् । 

त्यसो त पछिल्लो समय राजनीतिक दंगापछि केही सम्हालिएको बंगलादेशका वाणिज्य बैंकहरुको एनपीएल ९ प्रतिशत हाराहारी रहेको छ भने बंगलादेशअघि त्यस्तै दंगा भड्किएको श्रीलंकाका बैंकहरुको एनपीएल १३.३ प्रतिशत रहेको छ ।

यस्तै, पाकिस्तानका वाणिज्य बैंकहरुको एनपीएल ७.९ प्रतिशत रहँदा छिमेकी मुलुक भारतको समेत ३.९ प्रतिशत हाराहारी रहेको छ । तुलनात्मक रुपमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा दर निकै तल हुनुले पनि जोखिमपूर्ण भन्न नमिल्ने सीईओ केसीको तर्क छ । 

Advertisement