काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । तर जुन हिसावले बजार उचालियो त्यसरी नै कारोबार रकम भने बढेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२७.३२ अंकले उचालिएको छ । ४.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८२३.२५ अंकमा पुगेको छ ।
शेयर बजार उचालिंदा सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह सबैभन्दा बढी ७.९४ प्रतिशतले बढेको छ ।
आज ३३५ कम्पनीका ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । नेशनल हाइड्रो, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत र दोल्ती पावर तथा मल्टिप्रपोज फाइनान्सका लगानीककर्ता ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै लक्ष्मी उन्नती कोषका लगानीकर्ताले सबैभन्दा बढी ४.७१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज विभिन्न २२ कम्पनीको शेयर मूल्य घट्दा बाँकीमा हरियाली छाएको हो ।
आज गुडविल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ बराबरको कारोबार भएको थियो ।