निफ्राले तत्काल लण्डन स्टकमा बण्ड जारी नगर्ने, बरु नेपालमै बण्ड जारी गर्ने सोचमा छौंः सीईओ

Advertisement

काठमाडौं । निजी क्षेत्रबाट नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)का नवनियुक्त सीईओ कृष्ण अधिकारीले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने कुरा अहिले ‘सस्पेन्डेड’ रहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले त्यसको सट्टा नेपालमै पूर्वाधार बण्ड जारी गर्रे सोच आफूहरुको रहेको बताए । अधिकारीले भने, ‘पहिला पाँच बर्षअघि लण्डन स्टक एक्सचेन्जमा ५० मिलियन डलरको बण्ड जारी गर्ने कुरा भएको हो । त्यो अहिले ‘सस्पेण्डेड’ छ । विदेशी रकम ल्याउने भनेपछि धेरै खालका समस्याहरु आउँछन् । प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । हेजिङदेखि कन्ट्री रेटिङको कुरा मिलाउनुपर्ने हुन्छ । त्यो भएकोले तत्काल लण्डन स्टकमा बण्ड जारी गर्ने योजना छैन् । राष्ट्रियस्तरको बण्ड जारी गर्ने सोच छ । त्यहाँबाट पाँच–सात अर्ब रकम जुटाउन सकिन्छ । 

Advertisement

बत्तिस अर्बको ऋण स्वीकृत गरी २१ अर्ब ‘डिसबर्समेन्ट (निकासा) गरिसकेको निफ्रासँग अहिले लगानीयोग्य रकम चार अर्ब रहेको छ । जलविद्युत, होटल र अस्पतालका केही परियोजनामा ऋण लगानीका लागि बैंकले गृहकार्य पनि गरिरहेको छ । पूर्वाधार क्षेत्रमा आक्रामक ढंगले अघि बढ्ने तयारीमा रहेको बैंकले आवश्यक लगानी जुटाउन उपायको खोजी गरिरहेको छ । 

सीईओ अधिकारीले पूर्वाधार क्षेत्रमा गरिने लगानी दीर्घकालिन प्रकृतिको हुने र ठूलो लगानी चाहिने भन्दै आफूहरु स्रोत जुटाउने तयारीमा रहेको बताए । उनले भने, ‘स्रोत त चाहियो लगानी गर्नका लागि । स्रोत जुटाउन डिबेन्चर हुन्छ कि डिपोजिट हुन्छ कि दातृ निकायसँग ऋण लिने कुरा हुन्छ कि । उपायहरु छन् । बचत लिनका लागि अरु बाणिज्य बैंकको जस्तो हाम्रोमा मिल्दैन । कमर्सियल लेण्डिङ हाम्रोबाट हुँदैन् । निक्षेप लिँदा कम्तिमा पाँच बर्षको निक्षेप राख्नुपर्ने हुन्छ । त्यस्तो निक्षेपमा ब्याजदर पनि बढी अपेक्षा हुन्छ जुन कुरा निफ्राले दिन गाह्रो छ ।’ 

निफ्राले भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रमा मात्रै लगानी गर्ने हो भन्दै अधिकारीले नेपालमा पूर्वाधार विकासमा ठूलो लगानीको अभाव रहेको, जारी पञ्चवर्षीय योजनामा पाँच बर्षभित्र १११ खर्ब ८३ अर्ब लगानी आवश्यक ठहर गरे पनि सरकारले बर्षको तीन खर्बभन्दा बढी विनियोजन गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट त्यसलाई पूर्ति गर्न जरुरी रहेको बताए । सरकारले पूर्वाधार विकासमा एक रुपियाँ लगानी गर्दा निजी क्षेत्रबाट साढे दुई रुपियाँ खर्च गर्न जरुरी रहेको सीईओ अधिकारीको भनाई छ । 

पूर्वाधार विकासमा लगानी बढाउँदै जाँदा निफ्राको आवश्यकता र महत्व पनि बढ्दै जाने उनले बताए । थोरै कर्मचारी र शाखाहरु पनि नभएकाले निफ्राको सञ्चालन खर्च न्यून रहेको छ । निफ्रामा भारतीय धनाड्य गौतम अडानीले लगानी गर्न लागेको हल्लामा सत्यता नरहेको अधिकारीले स्पष्ट पारे । 

दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा निर्माण हुन लागेको पाँच तारे होटलसहितको २७ तले व्यापारिक कम्प्लेक्समा निफ्राले लगानी गर्न लागेको कुरामा भने सीईओ अधिकारीले अस्वीकार गरे । यसअघि अन्नपूर्ण होटल स्रोतले भने नयाँ कम्प्लेक्स निर्माणमा निफ्राले पनि चासो देखाएको बताएको थियो । 

Advertisement