अर्थमन्त्री पौडेलले भने, ‘दातृ निकायसँग सतर्कतापूर्वक ऋण लिन्छौ र प्रतिफल दिने क्षेत्रमा लगानी गर्छौं’

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईमएफ) को आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग आज भएको भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पाकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताए । 

Advertisement

सोही अवसरमा अर्थमन्त्री पौडेलले नेपालका लागि विस्तारित कर्जा सुविधा (क्सटेन्डेड क्रेडिट फेसिलिटी (इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए। 

आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गरिन् ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

Advertisement

Advertisement