काठमाडौं । आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा राख्ने बचत एक बर्षमै झण्डै पाँच खर्ब रुपियाँले बढेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले गत आर्थिक बर्ष २०८०–८१ मा व्यक्तिगत बचत तथा निक्षेप चार खर्ब ८० अर्ब ३२ करोड ५६ लाख रुपियाँले बढेको देखाएको हो ।
बैंकमा आम सर्वसाधारण सहित बिभिन्न कम्पनी, सरकारी निकाय, बिभिन्न कोष लगायतले निक्षेप तथा बचत राख्छन् । त्यसमा व्यक्तिगत निक्षेप मात्रै एक बर्षमा झण्डै पाँच खर्ब रुपियाँले बढेको हो ।
२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ३५ खर्ब ५९ अर्ब ५५ करोड रुपियाँ थियो । २०८० असार मसान्तसम्म आउँदा त्यो ४० खर्ब खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपियाँ पुगेको छ । वाणिज्य बैंकमा मात्रै व्यक्तिगत निक्षेप ३५ खर्ब २७ अर्ब ८४ करोड ५० लाख रुपियाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यो तथ्यांकले आम सर्वसाधारण आर्थिक रुपमा थप बलियो भएको संकेत गरेको छ । गत आवमा रेमिट्यान्स आप्रवाह उच्च थियो । त्यसले गर्दा पनि व्यक्तिगत निक्षेप बढाउने सहयोग पुगेको छ । साथै, स्वयम बैंकहरुले गत आवको पहिलो त्रैमाससम्म उच्च व्याजदरमा निक्षेप संकलन गरेका थिए । त्यसले पनि व्यक्तिगत निक्षेप बढाउन सहयोग पुगेको देखिन्छ । बचतकै व्याज आम्दानीबाट पनि यस्तो रकम बढेको जानकारवालाहरु बताउँछन् ।
अन्यको बचत कति ?
अहिले बैंकहरुमा विदेशी मुद्रा अन्तरगत गैर आवसायी बचत ७३ अर्ब ७५ करोड १५ लाख रुपियाँ र आवासीय बचत ९४ अर्ब ५७ करोड २८ लाख रुपियाँ रहेको रहेको छ । यस्तै, स्थानीय तहहरुको दुई अर्ब ४८ करोड तीन लाख रुपियाँ बचत रहेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी बीमा कम्पनीहरुले मात्रै छ खर्ब एक अर्ब ३५ करोड ७२ लाख रुपियाँ निक्षेप राखेका छन् । सर्वसाधारण पछि धेरै निक्षेप राख्नेमा दोस्रो नम्बरमा बीमा क्षेत्र रहेको छ ।
कर्मचारी सञ्चय कोषले एक खर्ब ८७ अर्ब ४१ करोड १४ लाख रुपियाँ र नागरिक लगानी कोषले एक खर्ब २४ अर्ब ४० करोड २६ लाख रुपियाँ निक्षेप राखेका छन् । अन्य गैर बैंकिङ सस्थाको दुई खर्ब ८३ अर्ब ७४ करोड ८५ लाख रुपियाँ निक्षेप देखिएको छ ।
यस्तै, सरकारी संस्थानहरुको तीन खर्ब ३३ अर्ब २७ करोड रुपियाँ, निजी कम्पनीहरुको चार खर्ब १८ अर्ब ५४ करोड ४६ लाख रुपियाँ र गैर सरकारी संस्थाको एक खर्ब ९८ अर्ब ६४ करोड २५ लाख रुपियाँ बचत रहेको छ ।
अन्तर बैंक बचत ४२ अर्ब ५१ करोड ३१ लाख रुपियाँ र अन्य बचत ९४ अर्ब ३२ करोड ९३ लाख रुपियाँ रहेको छ ।