काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा कात्तिक १२ सम्म ३९ अर्ब ९३ करोड रुपियाँ बराबरको माग दाबी परेको छ ।
हालसम्म घोषित २२ वटा समस्याग्रस्त सहकारी संस्थाबाट ६२ हजार ७६० जना पीडित बचतकर्ताहरुको उजुरीका आधारमा ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँको माग दाबी परेको हो ।
जसमध्येबाट हालसम्म छ हजार ५९३ जना पीडितको एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपियाँ बचत रकम फिर्ता गरिएको कार्यालयले जनाएको छ ।
बचतकर्ताहरुबाट परेको माग दाबी र हिसाब राफसाफबाट कायम रहेको उजुरी संख्या ५६ हजार ६०५ जना रहेको र माग दाबी ३८ अर्ब ४२ करोड तीन लाख २९ हजार ८११ रुपियाँ बाँकी रहेको समेत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म थप ९ वटा सहकारी संस्थाको हिसाबकिताब राफसाफ गर्ने र १३ हजार ७५ जना ऋणी सदस्यहरुबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७९४ रुपियाँ असुली अन्तिम चरणमा पुगिसकेको कार्यालयले जनाएको छ ।