बीमा क्षेत्रको विकास लागि छुट्टै कोष स्थापना हुँदै

Advertisement

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्ने भएको छ । हाल अर्थ मन्त्रालयमा बिचाराधीन रहेको बीमा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । 

सोही प्रस्ताव सहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्न सक्नेछ । 

Advertisement

उक्त कोषको नाम ‘बीमा विकास कोष’ राखिएको छ । यद्यपि, कोष कसको नेतृत्वको सञ्चालन गर्ने र रकम कहाँबाट जुटाउने भनेर नियमावलीको मस्यौदामा स्पष्ट उल्लेख गरिएको छैन । पछि प्राधिकरणले कार्यविधि मार्फत यस सम्बन्धमा स्पष्ट नीति ल्याउन सक्ने बताइएको छ ।

कोषमा भएको रकम प्रयोग गरी विपन्न वर्गका नागरिकमा बीमा पहुँच पुर्याउने कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । त्यो कोषबाट बीमाशुल्कमा अनुदान कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

बीमा सम्बन्धी समुदाय लक्षित नमुना (पाइलट) परियोजना सञ्चालन गर्ने, बीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, बीमा सम्बन्धी आवश्यकता पहिचान गर्न अध्ययन तथा अनुसन्धान गर्ने र बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने काम पनि कोषबाट हुनेछ । 

यस्तै, लघु तथा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारको गरिबी निवारण सम्बन्धी रणनीति अन्तर्गत अतिविपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्ने, सरकारले तोकेको कुनै खास समुदाय वा क्षेत्रलाई बीमाको दायरामा ल्याउने कुनै कार्यक्रम सञ्चालन गरिने पनि मस्यौदामा उल्लेख छ ।  साथै, नागरिकको बीमा हित संरक्षण सम्बन्धी अन्य आवश्यक कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ । 

कोष सञ्चालनका लागि क बर्ग (वाणिज्य बैंक) का बैंकमा छुट्टै खाता खोल्नुपर्नेछ । यस्तो कोषको रकम सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र र ऋणपत्र तथा वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी समेत गर्न पाइने नियमावलीको मस्यौदामा उल्लेख छ । तर, भुक्तानीमा प्रतिकूल असर नपर्ने गरी बाँकी रकम लगानी गर्नुपर्ने बताइएको छ । लगानीबाट प्राप्त व्याज लगायतका आम्दानी पनि कोषमै राख्नुपर्नेछ ।

Advertisement

Advertisement