काठमाडौं । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पीपी प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पान्डेलाई हस्तान्तरण गरिएको छ । पीपी प्रसाई फाउण्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रदान गरेकी हुन् ।
होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए ।फाउण्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको उत्कृष्ट शिक्षक पुरस्कार, २०८१ विभिन्न शिक्षकलाई प्रदान गरेको छ । जसमा कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कंडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट श्री सरस्वति माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीलाई पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
पुरस्कृत सबैलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । साथै सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री समेत प्रदान गरेको छ ।
यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत एक लाख रुपैयाँ राशीको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहान पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनले हरेक बर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यत्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।