काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दसैंका लागि जम्मा १५ सय गोटा मात्र खसीबोका ल्याउने भएको छ । अघिल्लो वर्ष ३ हजार बढी खसीबोका ल्याएपनि बिक्री कम भएको र धेरै मरेर नोक्सान भएपनि यसपटक कम्पनीले खसीबोकाको क्वान्टिटी (परिमाण) घटाउन लागिएको कम्पनीकी सूचना अधिकारी सर्मिला अधिकारी सुवेदीले कर्पोरेट नेपालसँग बताइन ।
‘यसपटक खसीबोकाको परिमाण केही घटाउने योजनामा छौं । करिब १५ सय गोटा खसीबोका र तीन सय हाराहारी च्याङ्ग्रा दसैंका लागि ल्याउँदैछौं । यति भए बजारको माग र बिक्री सन्तुलन मिल्छ भन्ने खाद्य कम्पनीको अनुमान छ’ सुवेदीले भनिन् ।
गत साल खाद्य कम्पनीले ३ हजार गोटा खसीबोका र करिब एक हजार गोटा च्याङ्ग्रा दसैंका लागि ल्याएको थियो । त्यसमध्ये धेरै खसीबोका मौसमसँग मिल्न नसक्दा मरेका थिए भने बिक्री नभएका खसीबोका तथा च्याङ्ग्रा खाद्यले पालेको खोरमा नै भुसियाँ कुकुर छिरेर मारेको थियो । जसबाट कम्पनीलाई करोडौं रुपियाँ घाटा लाग्न पुगेको थियो । सोही कारण यसपटक खसीबोका र च्याङ्ग्राको क्वान्टिटी घटाउन लागिएको सूचना अधिकारी सुवेदीले कर्पोरेट नेपाललाई बताइन ।
खसीबोका खरिदका लागि ४ करोड बजेट विनियोजन
यसपटक क्यान्टिटी घटाएसँगै बजेट समेत कटौती गरिएको सूचना अधिकारी सुवेदीको भनाइ छ । ‘पोहोर सालभन्दा यस वर्ष आधा बढीले नै खसीबोकाको परिमाण घटाइएको छ । जसले गर्दा बजेट समेत घटेको छ’ सुवेदीले भनिन्, ‘यो पटकको खसीबोकाको बजेट ४ करोड रुपैयाँ मात्र छ ।’
अघिल्लो वर्ष करिब २५ सय खसीबोका तथा च्याङ्ग्रा खरिद तथा ढुवानीका लागि कम्पनीले ८ करोड रुपियाँमाथिको बजेट छुट्याएको थियो । तथापि, कति खर्च भयो ? र कति घाटा लाग्यो सो भने उनले खुलाउन चाहिनन् ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीले खसीबोका नेपालको मध्य तथा पश्चितम क्षेत्रको हेटौंडा, दाङ, तुल्सिपुर बाट ल्याउन तयारी गरेको छ भने सदाझैं च्याङ्ग्रा भने माथिल्लो डोल्पा तथा मुस्ताङबाट ल्याउने तयारी गरेको सुवेदीको भनाइ छ । जसका लागि सार्वजनिक टेन्डर आह्वानको तयारीमा कम्पनी रहेको उनले बताइन् ।
खाद्य कम्पनीले खसीबोका खरिद गर्ने सम्बन्धित जिल्लाको जिल्ला अधिकारी (सीडीओ) को रोहबरमा स्थानीय उपभोक्ता संरक्षण समिति समेतको सहभागितामा खसीबोकाको मूल्य निर्धारण गरेर खरिद गर्नेगर्छ । यता बिक्री मूल्य भने बजार भाउ अनुसार प्रतिकेजी १० देखि १५ रुपियाँ छुट दिइने अधिकारीले जानकारी दिइन् ।