बैंकहरुको ऋण लगानी ५२ खर्ब पुग्यो, अझै लगानीयोग्य पुँजी सात खर्ब बाँकी

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पहिलो पटक ५२ खर्ब रुपियाँ पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थाले गरेको कुल कर्जा लगानी ५२ खर्ब रुपियाँ पुगेको हो । 

नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । बक्यौताको आधारमा सो विन्दुमा कर्जा प्रवाह पुगेको राष्ट्र बैंकको भनाइ छ ।

Advertisement

२०८० असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ७८ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए । गत आवको अन्तिम अर्थात् २०८१ असारसम्म आउँदा त्यो ५१ खर्ब ७० करोड रुपियाँ पुगेको थियो । अहिले त्यो थप बढेर ५२ खर्ब रुपियाँ पुगेको हो । नेपालको कर्जा प्रवाह पहिलो उक्त विन्दुमा पुगेको हो । 

यद्यपि, पछिल्लो समय कायम आर्थिक शिथिलताले बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । खर्बौं रुपियाँ ऋण लगानी योग्य पुँजी बैंकमै थन्कीएर बसेको छ । त्यो अवस्थामा कर्जा प्रवाहको यही विन्दुमै सन्तोष भएर बस्न नहुने बैंकरहरु बताउँछन् । 

कूल कर्जा प्रवाहमा वाणिज्य बैंकहरुबाट मात्रै ४६ खर्ब एक अर्ब रुपियाँ ऋण लगानी भएको छ । अन्य बैंक तथा वित्तिय संस्थाबाट भने छ खर्ब रुपियाँमा कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ । 

बैंकहरुको निक्षेप संकलन भने ६४ खर्ब ७१ अर्ब रुपियाँ पुगेको छ । गत असारसम्म बैंकहरुको निक्षेप संकलन ६४ खर्ब ९६ अर्ब रुपियाँ थियो । त्यसपछि घटेको निक्षेप पुनः बढ्दै गएको छ । अहिले वाणिज्य बैंकहरुमा मात्रै ५७ खर्ब ४५ अर्ब रुपियाँ निक्षेप छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने सात खर्ब २७ अर्ब रुपियाँ निक्षेप कायम रहेको तथ्यांकमा देखिन्छ । 

ऋण दिन मिल्ने रकम सात खर्ब 
झण्डै ६५ खर्ब निक्षेप राखेका बैंकहरुमा कर्जा लगानीयोग्य रकम भने सात खर्ब १५ अर्ब रुपियाँ छ । बैंकहरुले यसअघि नै ५२ खर्ब रुपियाँ लगानी गरिसकेका छन् । अब थप सात अर्ब रुपियाँ हारहारीमा कर्जा लगानी गर्न पुग्ने रकम बैंकहरुमा छ । 

बैंकहरुले कर्जा–निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा लगानी गर्न सक्नेछन् । अहिले बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.९५ प्रतिशत छ । त्योअनुसार बैंकहरुले निक्षेपको अझै ११.०५ प्रतिशत रकम कर्जाको रुपमा लगानी गर्न पाउने छन्, जुन रकम सात अर्ब १५ करोड रुपियाँ हुन आउछ ।
 

Advertisement