काठमाडौं । बुध्द एयरले आफ्नो एउटा एटीआर जहाजलाई थन्क्याएको छ । सो जहाजले हालसम्म १८ लाख यात्रुलाई उडान सेवा दिइसकेको छ ।
बुध्द एयरका अनुसार जहाजले ७० हजार उडान अवतरण (साइकल) पूरा गरेको र विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाईदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।
जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन, जहाजको उडान अवतरण संख्याले निर्धारण हुन्छ । तसर्थः हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने कम्पनीले जनाएको छ ।
बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुई वटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो । कम्पनीले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्राइसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।
आज विदाई गरिएको जहाज नेपाली रजिष्ट्रेशन ९एन–एआइएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बरः एसएन४०३ हो । १६ वर्ष ३ दिने उडानका दौरानमा यसले अठार लाख भन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।
आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । यसैगरी एटीआरका प्रतिनिधि‘ पवन तनवनीले बुध्द एयरको जहाज तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती थियो ।
बुध्द एयरले दैनिक १५० भन्दा बढी उडानमार्फत यात्रुहरुलाई सेवा प्रदान गरिरहेको छ । पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ । बुध्द एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ ।