सोल्टी होटलको ३६ प्रतिशत लभांश घोषणा, ओरिन्टियलको गत वर्षकै लाभांश दोहोरियो

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कूल ६ वटा होटल तथा पर्यटन कम्पनीहरुमध्ये हालसम्म दुईवटा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् । प्रसिद्ध पाँचतारे होटल, सोल्टी होटल लिमिटेड र ओरिन्टियल होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनी लाभग्राहीलाई लाभांश वितरणको घोषणा गरेका हुन् । 

सोल्टी होटल लिमिटेडले नगदसहित ३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । हस्पिट्यालिटी इन्ड्रस्ट्रीमा हालसम्म लाभांश घोषणा गर्ने दुई कम्पनीमध्ये सोल्टी होटल नै उच्च लाभांश घोषणा गर्ने कम्पनी बन्न सफल भएको छ । 

Advertisement

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुमा १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कूल ३६.८४२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । यो अघिल्लो वर्ष कम्पनीले वितरण गरेको लाभांशको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० को कारोबारबाट कम्पनीले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । 
तुलनात्मक रुपमा पछिल्लो वर्ष होटलको कारोबार (व्यापारमा) राम्रो भएसँगै नाफा वृद्धि भएको र लाभांश वितरण बढेको हो । 

यस्तै ओरिन्टियल होटल लिमिटेडले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 
उसो त अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि कम्पनीले ५.२६३२ प्रतिशत नै लाभांश वितरण गरेको थियो । तर, यस वर्ष कम्पनीले बोनस नभएर नगद लाभांश मात्र वितरण गरेको थियो । 

अघिल्लो वर्ष १५ प्रतिशत लाभांश घोषणा गरेको तारा गाउँ रिसेन्सी लिमिटेडसहित चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन लिमिटेड र सिटी होटल लिमिटेडले लाभांश वितरणको घोषणा गर्न बाँकी रहेको छ । 
 

Advertisement

Advertisement