काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।
भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनसम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न उनले आग्रह गरे । त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेकोे उनले बताए ।
मन्त्री पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भई सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौ । यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ ।’
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोगका लागि विशेष जोड दिँदै भने, ‘यी दुई विमानस्थलहरुको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरु सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ ।’
नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि प्रति प्रतिवद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धी हासिल गरेको स्मरण गर्दै मन्त्री पाण्डेले भने, ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु ।’
नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइ सकेको उनले बताए ।
‘नेपालको बेग्ले खाले प्रकृति, भूबनोट र भूगोल छ त्यसैले गर्दा नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान र खोजको ठूलो सम्भावना छ । हामीले नेपालमा क्षेत्रीय अनुसन्धानर तथा तालिम केन्द्रको स्थापना गर्न सक्छौ । साथै एयर नेभिगेशन सर्भिस ९एएनएस०सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवाहरु र एयर ट्राफिक फ्लो मेनेजमेन्ट जस्ता विषयमा भएका राम्रा प्रयासहरुको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सक्छौं, उनले भने ।
सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु, जसले गर्दा सुरक्षित र दीगो उड्डयन तर्फको हाम्रा साझा प्रतिवद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।’