चाडबाडको सिजन : दशैंका लागि सुरु भयो हवाई टिकट बुकिङ, बसको असोज पहिलो सातादेखि
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । 

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दशैंलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए । 

Advertisement

उनले भने, 'दशैंमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप समान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ ।'

अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दशैंलक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबीच छलफल नभएको उनले जानकारी दिए । 

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दशैंका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए । त्यस्तै, श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दशैंलक्षित बुकिङसमेत सुरु भएको बताए । 

यसैगरी दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ । 

Advertisement

Advertisement