कर्जाको माग नहुँदा बैंकहरुमा पैसा थुप्रियो, आज पनि राष्ट्र बैंकले १ खर्ब रुपियाँ तान्दै

Advertisement

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज०बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।

Advertisement

बैंकहरुमा अधिकत तरलता भएपछि राष्ट्र बैंकले आज एक खर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले पटक पटक यसरी नै बैंकहरुबाट पैसा तान्दै आएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड  रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

२१ दिन पछि अर्थात् आगामी असोज २० गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । अहिले कर्जाको माग न्यून हुदाँ अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ । 

अहिले बैंक तथा वित्तिय संस्थामा ६४ खर्ब ९६ अर्ब रुपियाँ निक्षेप छ । कर्जा प्रवाह भने ५२ खर्ब नौ अर्ब रुपियाँ छ । हाल बैंक तथा वित्तिय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ं८० प्रतिशत छ । सीडी रेसियो ९० प्रतिशत पुग्ने बेलासम्म कर्जा प्रवाह गर्न पाइन्छ ।

बैंकहरुले अझै निक्षेपको ११.२० प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन् । जुन रकम सात खर्ब २७ अर्ब रुपियाँ हुन आउँछ । तर, पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरुमा यो पैसा थुप्रिएको छ । त्यसलाई व्यवस्थापन गर्न सरकारले एकै दिन एक खर्ब रुपियाँ तान्न लागेको हो ।
 

Advertisement