संविधान बनेपछिको नौ बर्षमा जीडीपीमा निराशाजनक वृद्धि

Advertisement

काठमाडौं । संविधान बनेपछि नेपाली अर्थतन्त्र अर्थात् कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)को आकार ३२ खर्ब ८१ अर्ब २० करोड रुपियाँले बढेको छ । 

चालु मूल्यको आधारमा अर्थतन्त्रको आकार सो अंकले बढेको हो । यद्यपि यो नेपालसरहकै मुलुकहरुको तुलनामा निराशाजनक वृद्धि हो । विशेषगरी जीडीपीमा औद्योगिक क्षेत्रको योगदान घटेर पाँच प्रतिशतभन्दा तल झरेको छ । कुनै समयमा नेपालभन्दा कमजोर आर्थिक अवस्था भएको दक्षिण कोरियाको जीडीपी अहिले १.७६१ ट्रिलियन अमेरिकी डलर (२३१ खर्बभन्दा धेरै) पुगेको छ । 

Advertisement

राष्ट्रिय तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार नेपालमा २०७२ असोज ३ गते संविधान बनाइएको थियो । त्यसअघि आव २०७१–७२ मा चालु मूल्यको आधारमा नेपाली अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब ६३ करोड ८० लाख रुपियाँ थियो । 

त्यस यता नौ आर्थिक बर्षमा त्यो ३२ खर्ब ८१ अर्ब २० करोड ६० लाख रुपियाँले बढेर ५७ खर्ब चार अर्ब ८४ करोड ४० लाख रुपियाँ पुगेको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ असार मसान्तसम्म जीडीपीको आकार ५७ खर्ब रुपियाँ पुगेको अनुमान गरेको छ । यसको अन्तिम तथ्यांक भने आउन बाँकी छ । 

आव २०७२–७३ मा जीडीपी बढेर २६ खर्ब आठ अर्ब १८ करोड रुपियाँ पुगेको थियो । तर, २०७२ बैशाख १२ गतेको भूकम्प र भारतीय नाकाबन्दीले गर्दा त्यसबेला अर्थतन्त्र प्रभावित थियो ।

त्यसपछि आव २०७३–७४ मा ३० खर्ब ७७ अर्ब १४ करोड रुपियाँ, आव २०७४–७५ मा ३४ खर्ब ५५ अर्ब ९४ करोड रुपियाँ र आव २०७५–७६ मा ३८ खर्ब ५८ अर्ब ९३ करोड रुपियाँको जीडीपी कायम भएको थियो । 

आव २०७६–७७ मा ३८ खर्ब ८८ अर्ब ७० करोड रुपियाँ, आव २०७७–७८ मा ४३ खर्ब ५२ अर्ब ५५ करोड रुपियाँ, आव २०७८–७९ मा ४९ करोड ७६ लाख ५५ करोड रुपियाँ र आव २०७९–८० मा ५३ खर्ब ४८ अर्ब ५२ करोड रुपियाँको जीडीपी कायम भएको थियो । 

गत आव २०८०–८१ मा भने त्यो ५७ खर्ब चार अर्ब ८४ करोड रुपियाँ पुगेको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । 

यो अवधिमा स्थिर मूल्यका आधारमा आव २०७२–७३ मा ०.४३ प्रतिशत, आव २०७३–७४ मा ८।९८ प्रतिशत, आव २०७४–७५ मा ७.६२ प्रतिशत र आव २०७५–७६ मा ६।६६ प्रतिशतले जीडीपी बढेको देखिन्छ । 

यसैगरी आव २०७६–७७ मा स्थिर मूल्यका आधारमा जीडीपी २.३७ प्रतिशतले घटेको छ । त्यसबेला कोरोना महामारीले अर्थतन्त्र प्रभावित थियो ।

यस्तै, २०७७–७८ मा ४।८४ प्रतिशत, आव २०७८–७९ मा ५.६३ प्रतिशत, आव २०७९–८० मा १.९५ प्रतिशत र आव २०८०–८१ मा ३।८७ प्रतिशतले जीडीपी बढेको देखिन्छ ।

नेपालमा अझै पनि पर्याप्त लगानीको बातावरण बनेको छैन । तर, संविधान बनेपछि नेपालमा पहिलाको तुलनामा लगानीको बातावरण बनेको छ । सरकारले लगानीको लागि पनि प्रोत्साहन गरेको छ । त्यसले अर्थतन्त्रको विकासमा सहयोग पुगेको विज्ञहरु बताउँछन् । 

यस अवधिमा सबै भन्दा उच्च बृद्धि जलविद्युत् क्षेत्रमा देखिएको छ । यो नौ बर्षमा जलविद्युत् क्षेत्रको बृद्धि ३३३ प्रतिशतले बढेको छ । २०७२ असारसम्म जलविद्युत् क्षेत्रको आकार २१ अर्ब १३ करोड ८० लाख रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ९१ अर्ब ४३ करोड १० लाख रुपियाँ पुगेको छ । 

नेपालमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिन्छ । भारतमा विद्युत् निर्यात सुरु भइसकेको छ भने बंगलादेशमा पनि निर्यात गर्ने तयारी भइरहेको छ । यसबीचमा नेपालमा लोडसेडिङ न्यूनीकरण भए पनि औद्योगिक क्षेत्रले भने नियमतिरुपमा विद्युत उपयोग गर्न पाएको छैन । साथै, निजी क्षेत्रबाट विद्युत्को उत्पादन पनि बढ्दै गएको छ । हजारौ मेगावाटको परियोजना निर्माणमा चरणमा छन् । यसले जलविद्युत् क्षेत्रको उत्पादन बढाउन सहयोग पुगेको विज्ञहरु बताउँछन् । 

आकारका आधारमा सबैभन्दा ठूलो क्षेत्र भने कृषि नै देखिएको छ । पछिल्लो समय उक्त क्षेत्रको आकार १२ खर्ब १६ अर्ब ६४ करोड रुपियाँ पुगेको छ । नौ बर्षअघि उक्त क्षेत्रको आकार ६ खर्ब ४२ अर्ब ७१ करोड रुपियाँ थियो । तर कृषि क्षेत्रको व्यवसायिक खेतीको विकास हुन नसक्दा र राम्रो प्रतिफल प्राप्त नहुँदा किसान र विशेषगरी युवाहरु कृषि क्षेत्रबाट पलायन हुने क्रम तीब्र बनेको छ । 

Advertisement

Advertisement