बजारबाट आज पनि ३० अर्ब तरलता उठाउँदै केन्द्रीय बैंक

Advertisement

काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै केन्द्रिय बैंकले थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

Advertisement

भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ । 

केन्द्रीय बैंकका अनुसार भदौ २९ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.७९ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।
तर, बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चाहेर पनि लगानी बढाउन सकेका छैनन् ।

यस्तो अवस्थामा सस्तो ब्याजमा नै केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बैंकहरु बाध्य छन् । यसै कारण केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा लगातार निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गरिरहेको छ ।

केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 

Advertisement

Advertisement