फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

Advertisement

लेखनाथ । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । 

विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ । 

Advertisement

दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी  दिनुभयो । 

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो । समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम  सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । 

फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ । 

कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताउनुभयो । “मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भन्नुभयो, “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।” 

मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले  दान सहयोग गरिरहेको उहाँले सुनाउनुभयो । 

तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी,  कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिनुभयो । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुङ्गा चढेर जानुपर्ने हुन्छ । 

Advertisement

Advertisement