काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेलले निरन्तरता पाएका छन् । कात्तिक २ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक गजुरेललाई नै पुनः निरन्तरता दिने निर्णय गरेको हो । योसँगै गजुरेलले इन्टरमोडल यातायात विकास समितिमा थप ४ वर्षको जिम्मेवारी पाएका छन् ।
यातायात तथा सडक विज्ञ समेत रहेका गजुरेल २०७७ कात्तिक ४ गते इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको ४ वर्षे कार्यकाल यहीँ कात्तिक ३ गतेसकिँदै थियो । तथापि, शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनै गजुरेललाई निरन्तरता दिने निर्णय गरेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समिति देशभरको भन्सार केन्द्र तथा बन्दरगाहको सुधार एवंम् व्यवस्थापनका गठित सरकारी संस्थान हो । काठमाडौं स्थिति चोभार सुख्खा बन्दरगाह इन्टरमोडल यातायात विकास समितिकै अगुवाईमा निर्माण भएको हो भने समितिले रसुवागढीमा पनि बन्दरगाह निर्माण गर्दैछ । यता समितिले दोधारा चाँदनीमा समेत सुख्खा बन्दरगाह निर्माण गर्ने तयारी गरिरहेको छ ।
तथापि, आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सरकारले अन्य संस्थाहरुसँगै इन्टरमोडल यातायात विकास समितिलाई पनि खारेज गर्ने भन्दै खारेजीको लिस्टमा राखेको थियो । तर, यसको आवश्यकता महशुस गर्दै सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।