हिमालयन क्यापिटलद्वारा ७ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । हिमालयन क्यापिटलले शेयरधनीलाई  ७ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

Advertisement

लाभांश पारित गर्न तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले सातौं वार्षिक साधारणसभा डाकेको छ । 

सभा कात्तिक २८ गते,  कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले गत आवको सञ्चालक समिति तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ  ।

साथै, चालू आवका लागि लेखारीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ति गर्ने तथा सञ्चालकहरुको भत्ता तथा अन्य सुविधामा छलफल गरी पारित गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । 

सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोपश्चात् प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि पेश हुनेछ । 

Advertisement

Advertisement