तीन महिनामा निजी क्षेत्रबाट ८८ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा, सरकारको शून्य

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा ८८ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा थपिएको छ । 

बर्तमान सरकार गठन भएको १०० दिन भएको अवसरमा आज ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् । 

Advertisement

यस अवधिमा सोलुखुम्बु जिल्ला स्थित १२ मेगावाटको दुधकुण्ड खोला, म्याग्दी जिल्ला स्थित ३८ मेगावाटको निलगिरी खोला, सिन्धुपाल्चोक जिल्ला स्थित ९९० किलोवाटको सेलांड खोला साना, कास्की जिल्ला स्थित २५ मेगावाटको सेती नदी, बाग्लुङ जिल्ला स्थित ४.९६ मेगावाटको भीम खोला, संखुवासभा स्थित पाँच मेगावाटको लंबुवा साना र गोरखा जिल्ला स्थित दुई मेगावाटको अप्पर रिचेत खोला जलविद्युत् आयोजना सञ्चालनमा आएका हुन्, यी सबै निजी क्षेत्रका जलविद्युत् परियोजना हो । 

समीक्षा अवधिमा सरकारका नयाँ आयोजनाहरु भने सञ्चालनमा आउन सकेनन् । मध्य भोटेकोशी, साञ्जेन लगायतका परियोजना पहिलो त्रैमासमा सञ्चालनमा आउने भनिएको थियो । तर, असोज १०–१२ गतेको बाढीले प्रसारण लाइन प्रभावित बनाएपछि त्यो सम्भव भएन । अब केही हप्तामै उक्त परियोजनाहरु राष्ट्रिय ग्रिडमा आवद्ध हुने सरकारको दावी छ । 

यस्तै, गोरखा जिल्ला स्थित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौटका लागि टीओआर, लागत अनुमान र इओआई सम्बन्धी कागजातहरु तयार भइरहेको पनि मन्त्रालयको भनाइ छ । साथै, आयोजनाको निर्माण प्रारूप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ काम अघि बढाइएको बताइएको छ । 

समीक्षा अवधिमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिचाई पम्प जडान कार्य सम्पन्न भएको पनि बताइएको छ । 

यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिडबाट उत्पादित विध्युत रास्ट्रिय प्रसारण ग्रिडमा जडान गरि करिब ३०० घरधुरीमा विद्युत सेवा संचालन कार्य सम्पन्न भएको पनि मन्त्रालयको भनाइ छ । 
 

Advertisement

Advertisement