काठमाडौं । विश्व बैंकले सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र (डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर (बीस अर्ब १० करोड) सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा बिहीबार बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने राष्ट्रिय निर्देशक डेभिड सिस्लनले सहायता परिचालनसम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको अर्थमन्त्रको सचिवालयले जनाएको ्छ ।
बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुने जनाइएको छ । पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका क्रममा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी भएका थिए ।
आजै पौडेलसँग विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुले भेटवार्ता गरेको जनाइएको छ । उक्त भेटवार्ताको क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको थियो ।
त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै उनको भेटवार्ता भएको छ । पौडेलसँग आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटिको पनि भेटवार्ता भएको छ ।