आफ्नै भाईप्रति निर्मम दाई पद्य ज्योति, बिरामीलाई निकालेर ग्राण्डी सिटी अस्पताल खाली गर्न दबाब

Advertisement

काठमाडौं । जुन भाईले गर्दा व्यवसायिक विरासत जोगाउन र स्थापित हुन सफल भए, त्यही भाईप्रति व्यवसायी पद्य ज्योति र उनका छोरा सौरभ ज्योति कठोर बनेका छन् । 

सम्पत्तिको लोभमा भाई डा. रुप ज्योतिलाई निकै दुःख दिँदै आएका पद्य ज्योतिले फेरि जमलस्थित ग्राण्डी सिटी अस्पताल खाली गराउन दबाब दिएका छन् । अस्पतालमा अहिले बिरामी बच्चाहरु अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा समेत उपचार गरिरहेका छन् । 

Advertisement

ती बिरामीहरुलाई निकालेर भवन खाली गर्न दाई पद्य ज्योति र उनका छोरा सौरभ ज्योतिले काठमाडौं महानगरपालिकामा निवेदन दिएपछि महानगरका प्रहरी आएर अस्पताल खाली गराउने प्रयास गरेका छन् । 

अस्पताल रहेको भवन अंशबण्डाका क्रममा दुवै दाजुभाईको नाममा परे पनि दाजुभाईबीचको लामो समयदेखिको मनमुटावका कारण दाई पद्य ज्योतिले भाईलाई अनावश्यक दुःख दिँदै आएका छन् । अस्पताल भने भाई रुप ज्योतिको हो । भवन खाली गर्न उनले एक बर्षको समय मागे पनि दाई पद्य ज्योतिले भने अस्वीकार गर्दै प्रशासन लगाएका हुन् । महानगरको प्रहरीले एक हप्ताभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ । 

डा. ज्योतिले दाईकै सहमतिमा यसअघि उक्त भवनमा २० करोडभन्दा धेरै लगानी गरेको सुनाउँदै भने, ‘एक्कासी आएर भवन खाली गर भनेपछि सानो सानो बच्चा कहाँ लाने ? यस्तो अमानवीय र निर्दयी कुरा गर्न हुँदैन नि । अस्पताल जस्तो कुरा भन्ने बित्तिकै खाली गर्न गाह्रो हुन्छ ।’ महानगरीय प्रहरीले भने आफूहरुलाई यस्ता कुरामा मतलब नभएको भन्दै जबर पनि खाली गराउने चेतावनी दिएका थिए । 

करोडौंको उपकरण र संरचना भएको अस्पताल केही दिनभित्रै खाली गर्न भन्दै सूचना टाँसेर गएपछि रुप ज्योति यतिबेला अन्योलमा परेका छन् । आफूहरुले लामो समयदेखि बिक्री गर्दै आएको दुई पांग्रे अटोमोवाइल ब्राण्ड हिरो चौधरी समूहका विनोद चौधरीले खोसेको चोट, बैंकहरुले दिएको दुःखबाट पीडित भएका डा. रुप ज्योतिलाई आफ्नै दाई पद्य ज्योति र भजित सौरभ ज्योतिले दुःख र तनाब दिएका हुन् । यसअघि जग्गा कारोबारको नाममा डा. ज्योतिलाई पक्राउ गर्दा समेत उनीहरुले मौन समर्थन जनाएका थिए । 

देशकै ठूलो व्यवसायिक घरानाको रुपमा चिनिएको ज्योति समूह दाजुभाईबीचको विवादको कारण बदनाम र कमजोर बन्दै गएको छ । विशेषगरी दुई पाँग्रे अटोमोवाइल व्यवसायमा लामो इतिहास बोकेको ज्योति समूहमा डा. रुप ज्योतिले नै हिरो होण्डाको बजारलाई स्थापित गरेका थिए । हिरो होण्डा टुक्रिएपछि बढी चलेको होण्डा दाई पद्य ज्योतिलाई दिएर रुप ज्योतिले हिरो आफू राखेका थिए । होण्डाको व्यापारबाट पद्य ज्योति र उनको छोरा सौरभ ज्योति मालामाल भए पनि त्यसको मुनाफा भने भाई रुप ज्योतिलाई दिन पद्य ज्योतिले अस्वीकार गरेका थिए । 

अटोमोवाइल, आइरन, औषधि, अस्पताल, बैंक, बीमा, ग्यास जस्ता थुप्रै क्षेत्रमा लगानी गरेको ज्योति समूहमा भाईलाई अन्याय भएको भन्दै पद्य ज्योति तथा रुप ज्योतिकी आमा र बहिनीले डा. रुप ज्योतिलाई साथ दिँदै आएका थिए । ज्योति समूहको सम्पत्तिमा उनीहरुको बहिनी कमला कंसाकारको पनि पनि उत्तिनै हिस्सेदारी छ । कमलाले डा. रुप ज्योतिलाई साथ दिएका कारण रुप ज्योति समूहको अध्यक्ष समेत सजिलै बन्न सफल भएका छन् । सोही रिसले पनि पद्य ज्योतिले रुप ज्योतिलाई दुःख दिने र अप्ठ्यारोमा पार्ने काम गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ ग्राण्डी सिटी अस्पताल खाली गराउने प्रयास । 

Advertisement

Advertisement