काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ ।
अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले राससलाई जानकारी दिए ।
उनले भने, “मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी वागमती नदीमा छाडिएको छ ।”
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी वागमती नदीमा पठाइएका कारण अहिले वागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्चीबाट आएको बढी पानी वागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए ।
बाढीले क्षति गरेको नख्खु खोलाको पानी पुनः वितरण गरिंदै
यता, गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक लगायतको टोलीले आज बिहान ४ बजे पानी ल्याउन सफल भएको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।
आज बिहान कीर्तिपुरस्थित सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको उक्त पानी बाढी पसेका कारण फोहर भएकाले त्यहाँका खानेपानीका टयाङ्की सफा गरी पानी प्रशोधन गरेर वितरण गर्न मन्त्री यादवले निर्देशन दिनुभएको प्रमुख कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
अहिले सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी आइरहेको र उक्त पानी बल्खु, कुमारी क्लब, टेकु, सबल बहाल लगायतका क्षेत्रमा वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक एवं प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
बाढीले ललितपुरको नख्खु खोलामा बगाएको ४०० एमएमको करिब २५० मिटर नयाँ पाइप जडान गरि आज बिहान सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पानी ल्याइएको केयुकेएलले जनाएको छ ।
मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ५२५ खानेपानी आयोजनामा क्षति पु¥याएको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीले क्षति गरेका खानेपानीका ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनर्स्थापना प्रक्रिया सुरु गरिसकेको जनाइएको छ । रासस