एनआरएनको विवादमा प्रम र परराष्ट्रमन्त्रीबीच टकराब, एकता महाधिवेशन गर्न केसीद्धारा अस्वीकार

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघभित्र चर्किएको विवादलाई लिएर सत्ताधारी दलहरुबीच नै खटपट सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणाबीच संघको विवादलाई लिएर टकराब सुरु भएको हो । 

परराष्ट्रमन्त्री राणाले विवाद समाधानका लागि अदालतको आदेशअनुसार एकता महाधिवेशन गर्न केसी समूहलाई निर्देशन दिए पनि सो समूहले अस्वीकार गरेको छ । आफूलाई आधिकारिक भन्दै संघको कोष र कार्यालय सञ्चालन गर्दै आएको केसी समूहलाई आरके शर्मा नेतृत्वको समूहले अवैध बताउँदै आएको छ । केसी एमाले समर्थक हुन भने शर्मा माओवादी केन्द्र समर्थक हुन् । उनलाई कांग्रेसको पनि साथ रहँदै आएको छ । 

Advertisement

केसी समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै एकता महाधिवेशन नगर्ने र कात्तिक ११ र १२ मा बार्षिक साधारणसभा तथा ‘एनआरएन ग्लोबल कन्क्लेभ’ गर्ने निर्णय सुनाएको हो । सो कुराप्रति शर्मा समूहको आपत्ति रहेको छ । अदालतदेखि परराष्ट्रसम्मको कुरालाई अटेर गर्दैै अघि बढ्ने केसी समूहको निर्णयले दुर्घटना निम्त्याउनसक्ने सो समूहको चेतावनी छ । 

केसी समूहले ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने विषयमा कन्क्लेभ गर्ने बताएको छ । सो कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली जाने भनिए पनि परराष्ट्रमन्त्री राणा जाने कुरामा आशंका देखिन्छ । केसी समूहले पनि राणा सहभागी कुराको सुनिश्चितता गर्न सकेन । मन्त्री राणा नगएमा संघको कार्यक्रमको वैधानिकतामाथि नै ठूलो प्रश्न उठ्ने छ । यसअघि परराष्ट्रले नै यस्तो कार्यक्रमको मुख्य आयोजक रहँदै आएको थियो । 

विश्वभरबाट पाँच सय सहभागी हुने जनाइएको यो कार्यक्रम शर्मा समूहबाट अवरोध हुनसक्ने देखिएपछि कडा सुरक्षाको समेत माग गरिएको छ । सोल्टी होटलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा विवाद हुने संभावना धेरै भएकाले संघका धेरै अगुवाहरु सहभागी नहुने अनुमान गरिएको छ । संघका संस्थापक उपेन्द्र महतोले पनि एकता महाधिवेशन गरेर विवाद सल्टाउनुपर्ने बताउँदै आएका छन् । 
 

Advertisement

Advertisement