काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई गत बिहिबार र शुक्रबार तालिम आयोजना गरेको हो ।
दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए ।
साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग, आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपिओ भर्दा पुर्याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिम सम्बन्धी विषयहरु पनि समेटिएका थिए ।
कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ कोे अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताहको आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।