काठमाडौं । फूल मालाको विशेष पर्व तिहार लक्षित १८औं गोदावरी पुष्प मेला, २०८१ आइतबार सम्पन्न भएको छ । यहीँ कात्तिक ८ गतेदेखि ललितपुरमा लागेको मेलामा ४३ हजार ६ सय बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको र एक करोड १८ लाख रुपियाँ बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले दाबी गरेको छ ।
कूल चार दिन चलेको मेलाको पहिलो दिनमा नै ६ हजार ९ सय जनाले अवलोकन गरेकामा २५ लाख रुपियाँको कारोबार भएको आयोजकको भनाइ छ ।
दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपियाँ बराबरको कारोबार भएको र तेस्रो दिन हिजो (शनिवार) १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको दाबी गरिएको छ ।
मेलाको अन्तिम दिन आइतबार ११ हजारले अवलोकन गर्दा २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा भएपनि लक्ष्यभन्दा बढी अवलोकन र कारोबार भएको मेलाका संयोजक रामबहादुर तामाङले बताए ।
पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको जनाइएको छ।
मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहु वर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।
इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।
चार दिने मेलामा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रर्दशनी कक्षहरु रहेका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराएको थियो ।
२०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ।
हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड रुपियाँभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।