वैदेशिक रोजगारीमा जानेको संख्या झन बढ्दो, दुई महिनामै बाहिरिए एक लाख १७ हजार

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । गत आवको सोही महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

बैदेशिक रोजगार बिभागबाट प्राप्त उक्त महिनाको श्रम स्वीकृत सम्बन्धी तथ्यांकले उक्त संख्यामध्ये ३९ हजार ५५७ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् ।  बाँकी १७ हजार ९३७ जना भने पूरानै श्रम स्वीकृत नवीकरण गराएर गएका हुन् । 
 
गत आवको भदौको तुलनामा चालु आवको भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखिन्छ । चालु आवको भदौमा नेपालीहरु रोजगारीका लागि ९५ वटा मुलुकमा गएका छन् । त्यसमा युएईमा सबै भन्दा धेरै कामदार गएको देखिन्छ । समीक्षा महिनामा त्यहाँ १८ हजार ६०५ जना नेपाली रोजागरीका लागि गएका छन, जसमा १४ हजार ४२४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 

Advertisement

दोस्रो स्थानमा भने कतार रहेको छ । भदौमा कतारमा ११ हजार २९१ जना नेपाली रोजगारीका लागि गएका छन् । त्यसमा चार हजार ८४४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । तेस्रो स्थानमा रहेको साउदी अरबमा १० हजार ८३५ जना नेपाली रोजगारीका लागि गएको देखिन्छ । त्यसमा सात हजार २४६ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 

यस्तै, कुवेतमा चार हजार २१५, रोमनियामा एक हजार ८८८, जापानमा एक हजार ४५६, मलेसियामा एक हजार १९३ र कोरियामा एक हजार १०६ जना रोजगारीमा गएका छन् । यी बाहेक अन्य देशमा पनि नेपालीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । 

चालु आवको साउन महिनामा भने ५९ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ३६ हजार ९२८ जना नयाँ श्रम स्वीकृत लिएका थिए । गत आवको साउनमा भने ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ३९ हजार १५२ जना नयाँ श्रम स्वीकृती लिएका थिए । 

चालु आवको साउन र भदौमा गरेर एक लाख १७ हजार ६८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ७६ हजार ४८५ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका छन् । 

यो गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा एक लाख छ हजार ४५९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ७४ हजार ४५५ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका हुन् । गत आवभर भने नेपालबाट सात लाख ४१ हाजर २९७ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए । 

Advertisement

Advertisement