काठमाडौं । ऊर्जा व्यवसायी गणेश कार्की अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष छन् । झापाको दमक नगरपालिका घर भएका कार्की अहिले काठमाडौंमै बसोबास गर्छन् ।
पुर्ख्यौली घर झापा भएपनि कार्कीले अधिकांश चाडपर्व काठमाडौंमा नै मनाउने गर्छन ।
यसपालीको तिहार पनि काठमाडौं मै मनाउने योजनामा कार्की छन । उनका दिदी बहिनीहरु काठमाडौंमा छन्, त्योअनुसार यसपालीको तिहार काठमाडौंमै मनाउने योजना बनाएको उनले बताए ।
‘भाईटिकाको दिन दिदीबहिनी सहित घरपरिवारसँगै हुनेछु । अन्य दिन भने औपचारिक कार्यक्रममा सहभागी हुनेछु,’ उनले भने, ‘तिहारका लागि अन्य योजना भने केही छैन ।’
तिहारमा तास खेल्ने परम्परा पनि छ । अधिकांश व्यवसायीहरु तिहारको मेसोमा तास खेलेर पनि बस्ने गर्छन् । तर, कार्की आफुलाई तास खेल्न नआउने बताउँछन् । साथै, यसलाई वास्ता पनि नगरेको उनको भनाइ छ ।
‘मलाई तास खेल्न पनि आउँदैन । यसमा चासो पनि देखाइएन । तसर्थ, तिहार हो भन्दैमा तास खेल्ने गरेको छैन । यसपाली पनि खेल्दिन,’ उनले भने, ‘भाईटिकाको दिन बाहेक औपचारिक कार्यक्रममै व्यस्त हुनेछु ।’
यस्तै, उनले पहिला र अहिलेको तिहारमा धेरै फरक आएको पनि बताए । तिहारलाई आधुनिक र भड्कीलो रुपमा मनाउन थालिएको उनको भनाइ छ । तिहारको मौलिकता भने हराउँदै गएको उनले बताए ।
‘तिहारको मौलिकता हराउँदै गएको छ । देउसी भैलोको मौलिकता पनि हराउँदै गएको जस्तो देखिन्छ,’ उनले भने, ‘काठमाडौं लगायतका शहरमा त मौलिकता सहितको तिहार तथा देउसी भैलो नै देख्न पाइदैन । कही कतै ग्रामिण क्षेत्रमा यसको मौलिकता जिवन्त नै छ भन्ने आशा छ । तिहारको मौलिक परम्परालाई जर्गेना गर्न आवश्यकता छ जस्तो लाग्छ । यसका लागि सम्बन्धित निकायहरु नै बढी अग्रसर हुनुपर्छ ।’
यस्तै, उनले आफु बाल्यकालमा साथीहरुसँग मिलेर देउसी भैलो खेलेको बताए । ‘ठ्याक्कै मिति याद छैन, २०३०–४० को बीचमा स्कुल पढ्ने समयमा हरेक बर्ष तिहारमा साथीहरुसँग मिलेर देउसी भैलो खेलिन्थ्यो । त्यसबेला दक्षिणा १०–२० रुपियाँ दिन्थे । ५०–१०० रुपियाँ त हामीलाई पनि धेरै लाग्थ्यो । तिहारमा हाल्ने सेल रोटी खान पाइन्छ भनेर पनि देउसी भैली खेलीन्थ्यो । कुन घरमा कति बेला गएपछि के खान पाइन्छ भन्ने पनिलाई हामीलाई थाहा हुन्थ्यो । र, सोहीअनुसार त्यो घरमा भैलो खेल्न जाने गर्दथ्यौ,’ उनले भने, ‘साथै, बिगतका बर्षहरुका अनुभवको आधारमा कुन घरमा कति दक्षिणा पाइन्छ भन्ने पनि हामीलाई थाहा हुन्थ्यो । अधिकांशमा त्यो अनुमान मिल्थ्यो पनि ।’
देउसी भैलो खेलेर उठेको पैसा साथी–साथीमा बाँडेर लैजाने गरेको उनको सम्झाना छ । ‘त्यो बेला कति पैसा उठ्यो, कति बाड्यौं भन्ने सम्झना छैन । देउसी खेलेर बनभोज खाने परम्परा पनि थियो । तर, हामीले बनभोज कहिल्यै पनि खाएनौं । बच्चाको समयमा रहर धेरै हुन्थ्यो, पैसा हुने थिएन,’ उनले भने, ‘तसर्थ, देउसीबाट उठेको पैसा आफ्नो व्यक्तिगत चाहनामै खर्च गरियो । जेरी किनेर खाने, लंगुरबुर्जा खल्ने लगायतका काममा त्यो पैसा खर्च गर्ने गरेका थियौं । देउसीबाट आएको पैसाले हाम्रो बच्चापनको चाहाना पूरा गर्न धेरै सहयोग पुग्थ्यो ।’