बैंकले सहजै लगानी गर्न थालेपछि उद्योग व्यापारमा आकर्षण बढ्यो

Advertisement

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ ।

कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो ।

चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र तीन सय भन्दा बढी व्यापारी फार्म तथा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । गत आर्थिक वर्षमा वाणिज्यतर्फका व्यापारिक फार्म नौ सय १४ तथा साना उद्योग एक हजार दुई दर्ता भएको सो कार्यालयले जनाएको छ ।

व्यापार र उद्योगमा लगानी गरे मुनाफा सहजै हुने र बैंकिङ लगानी पनि सहजै हुने भएकाले नागरिकको आकर्षण यसतर्फ बढेको हुनसक्ने आर्थिक क्षेत्रका जानकार बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर ओलीले हाल जिल्लामा किराना, फेन्सी तथा कपडा पसल, गल्ला खरिद बिक्री, होटेल, रेष्टुराँ, गेष्टहाउस, छड तथा सिमेन्ट पसललगायतका गरी व्यक्तिगत सात हजार छ सय ६३ र साझेदारीमा ६३ गरी कुल सात हजार सात सय २६ दर्ता रहेको जानकारी दिए ।

उद्योगतर्फ डेढ महिनामा थपिएका ६५ सहित कुल पाँच हजार आठ सय १० उद्योग दर्ता रहेको सो कार्यालयले जनाएको छ । पछिल्लो समयमा दाङमा ठूला तारे होटेलदेखि सामान्य रेष्टुराँ खल्नेक्रममा वृद्धि भएको छ । दाङका प्रमुख शहर तुलसीपुर, घोराही, लमही र भालुवाङमा ठूला होटल तथा गेष्टहाउस एकपछि अर्को गरी खुलेका छन् भने राजमार्गको ठाउँ–ठाउँमा ठूला तथा साना रेष्टुराँ खुल्ने क्रम पनि बढेको छ । पछिल्लो समयमा मात्रै जिल्लामा दुई दर्जनभन्दा बढी ठूला होटल खुलेका छन् भने साना होटेल तथा रेष्टुराँ पनि अत्याधिक मात्रामा खुलेका छन् ।

तुलसीपुरमा दुई दशकदेखि एकान्त होटल एण्ड लज खोलेर व्यवसाय गर्दै आएका टेकराम खड्का भन्छन्, ‘अन्य व्यापार, व्यवसायभन्दा होटल तथा गेष्टहाउसमा लगानीअनुसार मुनाफा बढी हुने र मानवीय सेवा पनि गर्न पाइने भएकाले यसतर्फ आकर्षण बढेको छ ।’ खडकाले विगत ६ वर्षादेखि गर्मी महिनामा आफ्नै लगानीमा तुलसीपुरको बिपी चोकमा बसेर बटुवालाई निःशुल्क पानी पनि खुवाउँदै आएका छन् ।

परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने भएपछि व्यापार तथा होटल रेष्टुराँमा आकर्षण बढेको साना किराना तथा होटल सञ्चालकहरु बताउँछन् । राज्यले कृषि क्षेत्रमा खासै सहयोग नगर्ने र परम्परागत कृषि प्रणालीबाट जीवनयापन गर्न धौधौ भएपछि आफू व्यापारमा लागेको तुलसीपुरका कस्मेटिक व्यापारी दोर्ण खड्काले बताए । परम्परागत कृषि भन्दा व्यापारमा लगानीअनुसार मुनाफा पनि बढी हुने गरेकोे उनको भनाइ छ ।

तुलसीपुर बजारमा फेन्सी पसल गर्नुभएकी शारदा ओलीले कृषि क्षेत्रमा परिश्रम गरेअनुसार उत्पादन नहुने र भए पनि बजारको समस्या देखिएकाले कृषि व्यवसाय छोडेर आफू फेन्सी पसल सञ्चालन गरेको बताइन् । उनले भनिन्, ‘सानो व्यवसाय गर्न थोरै पुँजी भए पनि हुने र घर व्यवहार चलाउन आम्दानी पनि राम्रै हुने तथा लगानीसमेत सुरक्षित हुने भएकाले आफू यसतर्फ आकर्षित भएको छु ।’

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले देशमा अहिले राजनीतिक स्थिरता र स्थायी सरकार भएकाले लगानी सुरक्षित हुने विश्वास बढेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताए । उनले भने, ‘सरकारले अब आर्थिक समृद्धिलाई जोड दिएको छ, करको विषयमा अलिकति बुझाउन नसक्दा केही बाधा खेप्नुपरे तापनि नागरिकमा भने अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।’

घरेलु तथा साना उद्योग कार्यालय दाङले आर्थिक वर्ष ०७४÷७५ मा एक करोड ९३ लाख ९६ हजार आठ सय ३६ राजश्व सङ्कलन गरेको जनाएको छ । तीन करोडभन्दा बढी लगानीका ठूला उद्योगको भने कार्यालयमा तथ्याङ्क नहुने जनाएको छ । जिल्लामा केही सङ्ख्यामा ठूला–ठूला सिमेन्ट उद्योग तथा अन्य उद्योग पनि सञ्चालनमा छन् ।

Advertisement

Advertisement

Advertisement