मह मेलामा भाँडभैलो, मह किसान र व्यवसायीले नै बहिस्कार गरे मेला

Advertisement

काठमाडौंः राजधानीको भृकुटीमण्डपमा जारी राष्ट्रिय मह महोत्सव मह किसान र व्यवसायीले नै बहिस्कार गरेका छन् । आयोजकले एक पक्षलाई मात्रै मेलामा समेटेको र बहुसंख्यक मह किसान तथा व्यवसायीलाई बेवास्ता गरेको भन्दै उनीहरुले बहिस्कार गरेका हुन् ।

नेपाल मौरीपालक किसान महासंघ, मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल केन्द्रीय मह व्यवसायी संघले बुधबार राजधानीमा सयुक्तरुपमा पत्रकार सम्मेलन गरी महमेला बहिस्कारको घोषणा गरे । प्रथम राष्ट्रिय मह महोत्सव नेपाल केन्द्री मह व्यवसायी संघको नेतृत्व र मौरीपालक किसान संघ संस्था, व्यवसायिक किट विकास निर्देशनालयको सहभागितामा भएपनि यस पटक निर्देशनालयले अपारदर्शीरुपमा बजेट सक्नकै लागि मेला आयोजना गरेको नेपाल केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष देवबहादुर गुरुङको गुनासो छ ।

उनका अनुसार आर्थिक वर्ष २०७३/७४ मा आयोजना हुुने भनिएको मह महोत्सवका लागि दुईपटक टेण्डर आह्वान गरे पनि सम्वद्ध व्यवसायिक संस्थाले रितपूर्वक हालेको टेण्डर प्रक्रिया नपुगेको भन्दै निर्देशनालयले अस्वीकार गरेको थियो । यसरी टेण्डर अस्वीकार भएसँगै महोत्सव नहुने अवस्था पुगेकोमा निर्देशनालयले एक्कासी असार २६ गतेदेखि महोत्सव आयोजना हुने भन्दै सम्वन्धित संस्थाहरुलाई असार २३ गते जानकारी दिएको थियो ।

असारमा किसानहरु खेतीपातीमा लाग्नुपर्ने बेला केही दिनको मात्रै समय राखेर मह किसानलाई सहभागी हुन गरेको आग्रह बदनियतपूर्ण, औपचारिकता र मेलाका नाममा राज्यको ढुकुटीमात्रै रित्याउने खेल भएको गुरुङको भनाई छ ।

मौरीपालन केन्द्रिय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मेला आयोजनाका लागि निर्देशनालय गरेको खर्चमा व्यवसायीले पनि थप गरेर मेलालाई अझै व्यापक बनाउने आफूहरुको सोच रहेकोमा निर्देशनालयले समग्र किसान तथा व्यवसायीभन्दा पनि सीमित समूहको स्वार्थ र हितमा मेला आयोजना गरेर राज्यको ढुकुटी सिध्याएको आरोप लगाए ।

उनकाअनुसार निर्देशनालयले १५ लाख रुपियाँ खर्चमा मेला आयोजना गरेको हो । सरकारले महको प्रवद्र्धनका नाममा वास्तविक व्यवसायी र किसानभन्दा पनि पहुँचवाला च्यापेर हिँड्ने गरेकै कारण नेपालमा मह उत्पादन बढ्न नसकेको उनीहरुको आरोप छ ।

Advertisement

Advertisement

Advertisement