दुई महिनाअघि नै सम्पन्न भयो भनिएको काम अझै अधुरै

Advertisement

काठमाडौंः धनुषाको ढल्केवरमा निर्माण सम्पन्न भयो भनिएको २२० केभीको सबस्टेशन अझै निर्माण सम्पन्न हुन बाँकी रहेको तथ्य खुलासा भएको छ । यसअघि पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिनुअघि गएको जेठ १० गते राष्ट्रका नाममा गरिएको सम्बोधनमा उक्त सबस्टेशन निर्माण सम्पन्न भएको र सोही कारण भारतबाट थप विद्युत आयात गरी लोडसेडिङ घटाउन सफलता मिलेको बताएका थिए ।

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण कै आधारमा प्रधानमन्त्रीको सम्बोधन तयार हुने भएकाले मन्त्रालय र प्राधिकरणको मिलेमतोमा तीन करोड नेपालीलाई गलत सुचना दिएर ढाँटने काम भएको पछिल्ला गतिविधिले पुष्टी भएको छ ।

प्राधिकरणले उक्त सबस्टेशनको निर्माण अझै बाँकी रहेको खुलासा गरेको छ । उक्त सबस्टेशन बनाउन जिम्मा पाएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले विना कारण गत सातादेखि काम राकेकोले काम अघि नबढाए ठेक्का सम्झौता तोडने चेतावनी दिएपछि उक्त सबस्टेशनको निर्माण अझै बाँकी रहेको तथ्य फेला परेको हो ।

छ महिनाअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने उक्त काम सक्न अझै दुई महिना लाग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । ठेक्का लिने कम्पनी विवादास्पद र बेइमान भएकाले त्यो दुई महिनाभित्र पनि सम्पन्न हुने कुराको सुनिश्चितता देखिन्न । बुढीगण्डकी निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुपको नेपालको एजेन्ट दीपक भट्ट संलग्न रहेकोले पनि सिसिपिजी तोकिएको समय र लागतमा सही ढंगले काम गर्ने कुरामा प्राधिकरणका अधिकारीहरु नै शंका गर्छन ।

चाइना गेजुवा ग्रुप थुपै अनियमितता, करछली र कारवाही भोग्दै आएको कम्पनी हो । सिसिपिजीले कुनै कारण नखुलाई अघोषितरुपमा काम ठप्प पारेपछि प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएको जनाइएको छ । उक्त चेतावनीपछि कम्पनीले काम सुचारु गरेको हो ।

ढल्केबर सबस्टेशनको काम अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम तत्काल सम्पन्न हुन नसके भारतबाट थप विद्युत ल्याएर लोडसेडिङ न्यूनीकरण गर्ने प्राधिकरणको प्रयास असफल हुने देखिन्छ ।

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अहिले प्राधिकरणले २२० १३२ केभीको ट्रान्सफर्मर भाडामा लिएर भारतको मुजफ्फरपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । यो सबस्टेसन बनेपछि मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्नु नपर्ने र भारतबाट थप विद्युत् आयात पनि गर्न सकिने प्राधिकरणले जनाएको छ ।

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १३२ केभीमा चार्ज भइरहेकोमा अब २२० केभीमा चार्ज गर्ने तयारी भएको हो । उक्त नाकाबाट हाल करिव सय मेगावाट बिद्युत आयात भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement