‘स्थानीय तहमा जान नमान्ने कर्मचारी कारवाही गरिन्छः गरि खाने र ठगी खाने छुट्टाइन्छ’

tek_bahadur_basnet_minister_local_administration

काठमाडौंः सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा तत्काल कर्मचारीको खटनपटन गराइने भन्दै जान नमान्नेहरुलाई कारवाही गरिने बताएका छन् ।

उनले रिपोर्टर्स क्लवमा सोमबार भने, ‘हामी कर्मचारीहरुको मर्यादालाई पनि ख्याल गर्छौ, उनीहरुको केही गुनासाहरु छन्, त्यसलाई पनि सम्बोधन गरेर एकैसाथ देशभरि कर्मचारी सरुवा गर्छौं । तर जान नमान्नेलाई कारवाही गछौं ।’

nic-asia

मन्त्री बस्नेतले तत्काल स्थानीय तहमा कर्मचारी खटाउनको लागि सरकारले गृहकार्य प्रारम्भ गरिसकेको बताए । उनले भने ,‘नवनिर्वाचित जनप्रतिनिधिहरुमाथि प्रश्न चिन्ह खडा भैसकेको छ, छ वटा प्रदेशमा निर्वाचन भैसकेर स्थानीय सरकार बनिसक्यो, तर हामीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउन सकेका छैंनौं, हामी छिट्टै सबै ठाउँमा कर्मचारी खटाउँछौं ।’

प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न गर्नको लागि पनि कर्मचारी खटाइने तयारी भइसकेको भन्दै बस्नेले अब जनताको सेवा गर्दा वरिष्ठ र कनिष्ठको कुरा गर्नुहुँदैन्, कर्मचारी जसरी पनि समयमै पुग्नुपर्छ भने ।

उनले भने, ‘कर्मचारी समायोजन विद्येयकको टुङ्गो नलागेसम्म काजमा लिएर भएपनि जनतालाई सेवा प्रदान गर्नको लागि सरकार तत्पर छ, एक हप्ताभित्र स्थानीय तहमा कर्मचारी जान्छन्, यदि खटाइएको स्थानमा कर्मचारी गएनन् भने कारवाही हुन्छ, कर्मचारीको मर्यादालाई हामीले मिच्न खोजेका छैनौ, जनताको सेवासँग आफ्नो मर्यादालाई तुलना गर्न मिल्दैन ।’

मन्त्री बस्नेतले भने, ‘स्थानीय तहमा कर्मचारी खटाउँदा राज्यले सक्नेजति सुविधा उपलब्ध गराउन सरकार तयार छ, हामी सम्पूर्ण कर्मचारीको भावनाको सम्मान गर्छौं ।’ कर्मचारी व्यवस्थापनको लागि सरकार तयार रहेको बताउँदै उनले राजनीतिक सम्झौताको आधारमा कर्मचारी समायोजन गर्ने बताए ।

बस्नेतले भने, ‘अन्तरिम व्यवस्थाका आधारमा समायोजन गर्ने, सैदान्तिक व्यवस्थापन गर्ने लगायतका कोर्णबाट कर्मचारीलाई स्थानीय तहमा पठाउँदैछौँ ।’ उनले फरक प्रसँगमा पहिलेको भन्दापनि स्थानीय तह लागू भएपछि सुविधा कटौती भएकोमा सरकार चिन्तित रहेको बताए ।

उनले भने, ‘पहिलेभन्दा कम सुविधा जनताले उपभोग गर्न पाएका छन्, यस्तो स्थितिमा जनताले धैर्यता प्रदर्शन गरेका छन्, यदि जनताले त्यो धेर्यताका बाँध टुटाए भने, जनप्रतिनिधि र राजनीतिक दलहरुललाई तिम्रो सिँहदरबार तिमी नै लैजाउ भन्नेछन्, त्यसैले तत्काल कर्मचारी गाउँमा पठाएर जनताको सेवा दिनुपर्छ ।’

गरि खाने कर्मचारी र ठगी खाने कर्मचारीलाई यथासक्य छुट्याएर दोषीलाई कानून बमोजिम कारवाही गर्ने समेत बस्नेतको उद्धघोष थियो । उनले भने, ‘समयमा कार्यालयमा हाजिर नहुने, पूरा समय काम नगर्ने, तलव खाने यस्ता किसिमका कर्मचारीलाई तत्काल कारवाही गरिन्छ ।’

कर्मचारी तन्त्र सुधार गर्नको लागि पहिले कर्मचारी प्रणालीको सुधार हुनुपर्ने बस्नेतको तर्क छ । उनले भने, ‘हाम्रो देशमा कर्मचारी तन्त्र भत्केको छ भनिन्छ, यस्तो स्थितिमा कर्मचारी प्रणाली नै सुधार नभई अरु कुनै कुरा सम्भव हुँदैन, सामान्य प्रशासन मन्त्रालय सुन्दा सामान्य लागेपनि यसका कार्य व्यापक छन्, त्यसैले कर्मचारी तन्त्र र प्रणाली सुधारका लागि हामी कटिबद्ध छौँ ।’