लगातार घट्दै आएको सेयर बजारमा एक्कासी ३७ अंकको वृद्धि, लगानीकर्तालाई राहत

Advertisement

काठमाडौंः केही सातादेखि लगातार ओर्लिएको सेयर बजार परिसुचक नेप्सेमा आज बिहीबार ३७ अंकको सुधार आएको छ । दशैंको मुखमा बजार अस्वाभाविकरुपमा घट्दा सर्वसाधारण लगानीकर्ता निराश बन्दै गएको बेला आजको उच्च वृद्धिले उनीहरुलाई केही राहत पुग्ने देखिन्छ । यद्यपि यो वृद्धि पनि स्वाभाविक भने होइन ।

नेपालको सेयर बजारमा उच्च दरको उचार चढाव आउनुपर्ने कुनै परिस्थिति नरहेको विश्लेषकहरुले बताउँदै आएका छन् । दशैंको मुखमा बढन नसके पनि स्थिर रहनुपर्ने बजार लगातार घट्दा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा बसेका थिए ।

कारोबारमा वृद्धि नभए पनि नेप्से आज सुधार आएको हो । आज कुल ६३ करोड ५० लाख रुपियाँको कारोबार भयो । जसमा तीन करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र फर्वाड कम्युनिटी माइक्रोफाइन्स वित्तीय संस्था रहेका छन् ।

आज सबै समूहका उपसुचकहरु सकारात्मक रहे । सबैभन्दा राम्रो कारोबार व्यापार समूहमा भएको छ । व्यापार समूहको उपसुचक आठ प्रतिशतले वृद्धि भएको छ भने त्यसपछि क्रमसः वित्त समूह तीन दशमलव ४६ प्रतिशत, बिमा तीन प्रतिशत, बैंकिङ दुई दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको उपसुचकको वृद्धि दुई प्रतिशतभन्दा कम छ ।

आज कुल १६१ कम्पनीको सेयर किनबेच भएकोमा २१ कम्पनीको सेयर घटेको छ भने बाँकीको वृद्धि भएको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् । नाफा गर्नेमा बिशाल बजार कम्पनी, राष्ट्रिय बिमा कम्पनी अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement