एनआरएनए अगुवा भन्छन– यो अभियान कसैलाई नेतृत्वमा पुर्याउन होइन, यो देश बनाउने अभियान हो

Advertisement

काठमाडौंः विश्वभर रहेका गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन राजधानीमा शनिबार बिहान शुभारम्भका क्रममा यसका अगुवाहरुले आफूहरुको अभियान कसैको जित वा हारका लागि नेपाल नेपालको शान्ति र संवृद्धिका लागि भएको बताएका छन् ।

संघको नेतृत्व तथा पदाधिकारीका लागि तीब्र प्रतिस्पर्धा देखिएको बेला सम्मेलन उदघाटनका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले यस अभियानलाई राजनीतिबाट मुक्त राख्न चुनौतिपूर्ण बन्दै गएको संकेत गरे ।

उनले भने, ‘यो अभियान कसैलाई नेतृत्वमा पुर्याउन सुरु भएको अभियान होइन । मातृभूमिको विकासका लागि सुरु भएको हो । भोलि संघमा जो विजयी भएर आए पनि यही संवृद्धिको अभियानमा लाग्नुपर्छ ।’

देश संवृद्ध भएन भने व्यक्ति मात्रै धनी भएर केही हुँदैन भन्ने लागेर नेपालीका लागि नेपाली भन्ने अभियानका साथ आफूहरुले गैरआवासीय नेपाली संघको स्थापना गरेको स्मरण गर्दै महतोले नेपाललाई सुन्दर, शान्त र संवृद्ध बनाउनु नै हाम्रो लक्ष्य हो भने ।

संघका पूर्वअध्यक्ष जीवा लामिछानेले अवसरको खोजी वा बाध्यताले विश्वभर पुगेका नेपालीहरुले मातृभूमिका लागि सानो वा ठूलो योगदान गर्न सकौं भनेर यो अभियान अघि बढेको भन्दै संविधान निर्माणका लागि हामीले आफूहरुले विश्वभर आवाज उठाएको र अबको हामी सबैका चाहना शान्ति र संवृद्धि हो भने ।

संघका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाललाई अप्ठ्यारो पर्दा जहिले पनि गैरआवासीय नेपालीहरुले मलम लगाउने प्रयास गरेको भन्दै यद्यपि यो पर्याप्त नभएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उत्पादनमूलक क्षेत्रमा गैरआवासीय नेपाली र नेपालको निजी क्षेत्र मिलेर काम गर्नसक्ने भन्दै अनुकुल बाताबरण भयो भने गैरआवासीय नेपालीकोसहित ठूलो लगानी आउने बताइन ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गैरआवासीय नेपाली संघबाट सरकारले ठूलो अपेक्षा गरेको भन्दै संसदको निर्वाचनपछि मुलुकमा शान्ति र स्थिरता हुने र गैरआवासीय नेपालीलाई पनि लगानीको बाताबरण बन्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बतइन । उनले भनिन, “संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ ।”

नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको भन्दै भण्डारीले नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पुर्याउने बताइन । राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गरिन ।

संघका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने बताए । आजै विभिन्न विषयको सेसनमा कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि छलफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement