नेप्से झण्डै १८ अंकले झर्यो, वामपन्थीको सरकार आउने हल्लाले बजार प्रभावित

Advertisement

काठमाडौंः चाडपर्वपछि लगातार ओरालो लागेको सेयर बजार आज बुधबार पनि कायम रह्यो । सेयर बजार परिसुचक नेप्से आज झण्डै १८ अंकले झरेर एक हजार ४६६ दशमलव ६२ अंक कायम भएको छ ।

कारोबार रकममा मंगलबारभन्दा सामान्य सुधार आए पनि नेप्से भने दोहोरो अंकले घटेको हो । चुनावको खुसीको माहौलमा समेत बजार घट्नुले लगानीकर्ताहरु निराश र आश्चर्यमा परेका छन् । सबै समूहहरु ओरालो लागेकोमा आज पनि सबैभन्दा बढि होटल समूह तीन दशमलव ३८ प्रतिशतले गिरावट भएको छ ।

उत्पादनमूलक र अन्यबाहेकका समूहहरुको गिरावट एक प्रतिशतभन्दा कम छ । निर्वाचनको परिणाम वामपन्थी पार्टीहरुको पक्षमा जाने हल्लाले पनि बजारलाई धेरै प्रभावित पारेको हुनसक्ने धेरै विश्लेषकहरुको अनुमान छ ।

कतिपयले भने चाडपर्वपछि लगातार ओरालो लागेको बजारमा ठूलठूलो लगानी गर्ने लगानीकर्ता नआउँदा र उनीहरु पर्ख र हेरको स्थितिमा बस्दा बजार सुधार हुनुको सट्टा ओरालो लागेको बताउँछन् ।

अर्कोतर्फ अधिकांश कम्पनीहरुको पुँजी योजना सम्पन्न भइसकेको र कतिपयले हकप्रद सेयर घोषणा गरिसकेकाले पनि लगानीकर्तामा उत्साह कम भएको देखिन्छ । तरलतामा सुधार हुँदै गए पनि बैंकहरुले ब्याजदर नघटाउँदा त्यसको समेत प्रभाव सेयर बजारमा परेको कतिपय बताउँछन् ।

Advertisement

Advertisement