तथ्याङ्क कार्यालयको आर्थिक वृद्धिको प्रक्षेपणप्रति अर्थमन्त्रीको अविश्वास

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन् । 

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मंगलवार मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको प्रक्षेपणलाई अस्वीकार गरेका हुन । कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 

Advertisement

तर पुनले उक्त प्रक्षेपणलाई विश्वास गरेको देखिएन । अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले मुलुकमा पछिल्लो समय भएका आर्थिक गतिविधि र प्रयास हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको दाबी गरे । 

पुनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एशियाली विकास बैंकले ३.६ भनेको भए पनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको तर्क गर्दै गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गरे । 

सरकारले गर्ने पुँजीगत खर्च अबको तीन महिनामा वृद्धि हुने पुनको दावी छ । उनले आन्तरिक र बाह्य कारणले अर्थतन्त्र शिथिलता भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताए । केही सकारात्मक संकेतहरु देखापरे पनि अझै ढुक्कले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था भने नरहेको पुनले बताए । 

उनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनले बताए । 

उनले निर्माण क्षेत्र सुधार गर्न सरकार प्रयासरत रहेको बताउँदै नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए । उनले भर्खरै लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपालमा वैदेशिक लगानीको समेत राम्रो वातावरण र सम्भावना रहेको बताए । 

Advertisement

Advertisement