काँग्रेसले रुवायो, हामी हसाउँछौं– प्रचण्ड, मत नगन्दै ३२ जिल्लामा दुईतिहाई आएको दाबी

Advertisement

चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भइसकेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको कार्यक्रा उनले त्यस्तो दावी गरेका हुन ।

उनले २०७० सालको चुनाव र गएको स्थानीय तहको मतपरिणामको तथ्यांक देखाउँदै अहिले त्यही अनुपातमा भोट आएर वामपन्थीले दुईतिहाई बहुमत ल्याउने दावी गरे । प्रचण्डले भने, ‘हाम्रो बहुमत अब कसैले रोक्न सक्दैन, किनकी हाम्रो गठबन्धनमा मनैदेखि हृदयदेखि एकता छ ।’

एमाले अध्यक्ष केपी ओली र आफू द्धन्द्धवादी भएको, देश र जनताको आवश्यकताअनुसार चल्ने नेता भएको तर्क गर्दै उनले आफूहरुबीच भित्रैदेखि एकता रहेको बताए । मंगलबार बिहान मात्रै ओलीसँग फोनमा आफ्नो लामो कुराकानी भएको सुनाउँदै प्रचण्डले भने, ‘३२ जिल्लाको अवस्था के छ भनेर ? कुरा भयो, हामी के निश्कर्षमा पुग्यौं भने हामी दुई तिहाई भन्दा बढि आउने निश्कर्षमा पुग्यौं, बहुमत आई नै सक्यो, दुई तिहाईको टार्गेटमा छौं, बहुमत अब कसैले चाहेर पनि रोक्न सक्दैन् ।’

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका लागि वामगठबन्धनका उम्मेद्धवार समेत रहेका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुको शासन आए रुन पनि पाईदैन भन्नु गलत भएको दाबी गरे । उनले भने, ‘यो कुराको जवाफ म प्रधानमन्त्रीकै भाषामा, देउवाजीकै भाषामा भन्न चाहान्न, यसको लागि जति पनि जवाफ दिन सकिन्छ ।’

प्रचण्डले काँग्रेसले थुप्रै कल–कारखाना, उद्योग–धन्धा कौडीको भाउमा बेचेर थुप्रै जनतालाई रुवाएको तर्क गर्दै काँग्रेसले रुन मात्रै पारेको र रुवाएको रुवाएै गरेको बताए । अब आफूहरुले हसाउने उनले बताए ।

प्रचण्डले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा लहर आईसकेकाले अब बुहमत कसैले रौक्न नसक्ने जिकिर गरे । उनले आफ्नो गठबन्धनको बहुमत आएन भने पनि त्यसलाई स्वीकारेर अघि बढ्ने स्पष्ट पारे । प्रचण्डले थपे, ‘जनताले पराजित गरे भने हामी अभिमतको पूर्ण सम्मान गर्छौं ।

कम्युनिष्टको शासन आए मुलुकमा अधिनायवाद आउँछ भन्ने भनाई नै निराधार र गलत भएको टिप्पणी गर्दै उनले भने, ‘पहिला–पहिला कम्युनिष्टहरुको शासन आयो भने ६० वर्षको मान्छेलाई गोल हानेर मार्छन भनेर कांग्रेस नेताहरुले झुटो प्रचार गरे, तर मनमोहन अधिकारीले वृद्ध भत्ता दिँदा त्यो झुटो सावित भयो, अहिले विकास निर्माणको कुरा गर्नुहुन्छ भने मैले १० महिनामात्रै सरकारको नेतृत्व गर्दा आर्थिक वृद्धि ७.५ प्रतिशतले बढ्यो, कसले गर्दो रैछ विकास ? भन्ने कुरा प्रमाणित भएको छैन र ?

प्रचण्डले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा नछाडेको समेत जिकिर गरे । उनले भने, ‘यो एजेण्डा कायमै छ । चुनावपछि यो वियषलाई गम्भीर ढंगले उठाउछौं, अहिले चुनावको मुखमा यस्तो कुरा गर्दा राम्रो हुँदैन भनेर बसेका छौं, तर निर्वाचनमा दुई तिहाई मत आयो भने हामी संविधान संशोधन गरेर यो एजेण्डा स्थािपत् गर्छौं ।’

उनले चितवनमा आफूले जित्ने आधार नै जनताको विश्वास भएको बताए । उनले थपे, ‘नेपालमा स्थायित्व र विकास चाहिएको छ, यसको निम्ति राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिको खाँचो छ, त्यो व्यक्ति म हुँ, त्यसैले जनताको विश्वासले नै मैले चुनाव जित्ने हो ।’

Advertisement

Advertisement

Advertisement