चिन्तन पौडेलको नेतृत्वमा काँग्रेस युवा नेताहरुद्धारा राष्ट्रव्यापी जागरण अभियान सुरु गरिने

Advertisement

काठमाडौंः काँग्रेस युवा नेता एवं सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तनको नेतृत्वमा राष्ट्रव्यापी काँग्रेस जागरण अभियान सुरु गरिने भएको छ ।

चिन्तनको संयोजनमा शुक्रबार भएको भेलामा सहभागी युवा तथा विदार्थी नेताहरुले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नजिताको समीक्षा गर्दै काँग्रेस बलियो बनाउन युवाहरुले सक्रिय र सकारात्मक भूमिका खेल्नुपर्ने निष्कर्षमा पुगेको हो ।

काँग्रेसको मुल प्रवाहको राजनीतिमा सक्रिय रहेका झण्डै डेढसय युवा तथा विद्यार्थी नेताहरु भेला भएको उक्त कार्यक्रममा मनोजमणि आचार्य, भूपेन्द्र शाही, प्रमोदहरि गुरागाईं, बिनिता अधिकारी, आनन्द त्रिपाठी, प्रतिमा गौतम, लिला दाहाल, क्षितिज भण्डारी, विर्खराज गुरुङ, सञ्जय चौधरी, प्रकाश भण्डारीलगायत थिए ।

उनीहरुले काँग्रेसभित्र युवा नेताका नाममा केही मानिसले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो व्यक्तिगत प्रचार गरी फाइदा लिने तर पार्टीलाई बेवास्ता गर्ने काम भएको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरी नेतृत्वका गलत कामको पनि आलोचना गर्ने र काँग्रेसले हालसम्म गरेका सकारात्मक कामहरु जनतासम्म पुर्याउन अबका दिनमा भूमिका खेल्ने निष्कर्षमा पनि पुगेका छन् ।

congress-youth-chintanउनीहरुले काँग्रेस कै नेता कार्यकर्ता भएर चुनावको मुखमा आलोचना गर्ने र सकारात्मक कुराहरुको प्रचार नगर्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने टट्कारो आवश्यकता रहेको भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृतिहरु अन्त्यका लागि नयाँ उर्जाका साथ गोलवद्ध भएर देशव्यापीरुपमा युवा अभियान सञ्चालन गर्ने आवश्यकता औंल्याएका छन् ।

सहभागीहरुले चुनावमा काँग्रेसका नेता कार्यकतालाई कसरी जनतामाझ प्रस्तुत हुने ? भन्दा पनि केही मानिसहरुले सस्तो लोकप्रियताका लागि चर्को कुरा गर्ने, एमालेले वृद्धभक्तालाई देखाएर सधैं जनताको भोट हात पार्दा काँग्रेसले गरेका दर्जनौ सकारात्मक कामहरुको पटक्कै प्रचार गर्ने काम हुन नसकेको, कार्यकर्तादेखि जनतासम्मलाई आशा र विश्वास जगाउने ढंगले नेतृत्व प्रस्तुत हुन नसकेको भन्दै यस्ता कमजोरीलाई नयाँ युवा जागरण अभियानले सुधार गर्न लागिपर्नुपर्ने बताएका थिए ।

उनीहरुले योगदान र त्यागका आधारमा भन्दा पनि पैसा भएकालाई टिकट दिने, कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्ने हावादारी नारा अघि सार्ने जस्ता नेतृत्वका कमजोरीको पनि कडा आलोचना गर्दै भातृ तथा भगिनी संगठनहरुलाई क्रियाशील बनाउने, तथ्यांकका आधारमा पार्टी संगठन निर्माण गर्ने, बुद्धिजीवी तथा पेशाकर्मीहरुलाई समेटेर लैजाने, राष्ट्रियताको सवालमा भारत र चीनप्रति स्पष्ट दृष्टिकोण बनाउन काँग्रेस नेतृत्वले आफूलाई परिवर्तन गर्नुपर्ने बताएका थिए ।

congress-youth-chintan

Advertisement

Advertisement

Advertisement