अबको सरकारलाई समेत मान्य हुनेगरी भोलि प्रदेश प्रमुखहरु तोक्ने तयारीमा सरकार

Advertisement

काठमाडौंः कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने जानकारी दिएका छन् । रिपोर्टर्स क्लबमा आइतबार थापाले योग्य व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गर्ने बताए ।

केही दिन अघिसम्म यो सरकारले प्रदेश प्रमुख तोक्न पाउँदैन, तोक्यो भने सपथ खादैनौं भनेर खबरदार गरेका वामगठबन्धनका नेताहरु नै अहिले छिटो प्रदेश प्रमुख तोक्नुपर्यो भनेर दबाब दिइरहेको उनले बताए । थापाले पछिल्ला दिनमा सरकारले लिएका सबै अडान सही प्रमाणित भएको समेत तर्क गरे ।

मन्त्री थापाले पूर्व प्रशासक, विज्ञ, उच्चपदमा काम गरेर अनुभव लिएका सेवा निवृत्त धेरै व्यक्तिहरुको बारेमा प्रदेश प्रमुख तोक्नका लागि सरकारले गृहकार्य गरिरहेको बताए । प्रदेश प्रमुख तोक्दा अब आउने सरकारले पनि निरन्तरता दिन व्यक्ति छानिने भन्दै उनले वाम गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णय गर्ने बताए ।

अहिलेको सरकारले तोकेको प्रमखहरु ऋब बन्ने नयाँ सरकारले फेरबदल गर्ने चेतावनी दिइरहेका बेला मन्त्री थापाले सबैलाई पाच्य हुने व्यक्तिलाई नियुक्ति गरिने दाबी गरे ।

प्रदेश प्रमुख सोमबार तोक्ने जानकारी दिएका मन्त्री थापाले प्रदेशको अस्थायी राजधानी भने नतोकिने स्पष्ट पारे । कुनै पनि सरकार वा निकायलाई अस्थायी राजधानी तोक्ने अधिकार नभएको थापाको जिकिर छ ।

उनले भने, “संविधानले कसैलाई पनि अस्थायी राजधानी तोक्ने अधिकार दिएको छैन । यो सरकारलाई पनि त्यो अधिकार छैन । अब आउने सरकारलाई पनि छैन । संविधानको धारा २८८ को उपधारा ख मा प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी छनौट गर्ने व्यवस्था छ । सोही धाराको उपधारा ग मा प्रदेशसभाले राजधानी नछानेसम्म कार्यसम्पादनका लागि सरकारले सभा बस्ने ठाउँ निर्धारण गर्न सक्छ । तर कुनै पनि ठाउँलाई अस्थायी राजधानी भनेर तोक्न पाउँदैन ।”

उपधारा ३ मा टेकेर सभा बस्ने ठाउँ तोक्नका लागि सर्वदलीय बैठकमा सहमति खोज्ने प्रयास सरकारले गरे पनि सहमतिका लागि अन्य दलले चासो नदिएको थापाले आरोप लगाए ।

उनले भने, “वाम गठबन्धनका नेताहरुले तँ गर हामी हेरौँला भनेर बसेका छन् । तर हामी व्यवस्थापनका लागि मध्यमार्गी बाटो खोजिरहेका छौँ । प्रदेशको राजधानीको विषयलाई लिएर जनता आन्दोलनमा छन् । हामी गम्भीर भएर सपथ खाने ठाउँ तोक्छौँ । यो सरकार संविधानभन्दा बाहिर गएर केही काम पनि गर्दैन ।”

Advertisement

Advertisement

Advertisement