झिटी गुण्टाका नाममा बर्षेनी ५० हजारभन्दा बढि टेलिभिजन भित्रिन्छन, सरकारीस्तरबाटै प्रोत्साहन

Advertisement

काठमाडौंः भन्सार विभागको तथ्याङ्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक डेढसय भन्दा बढी टेलिभिजनहरु नेपाल भित्रिन्छन् । त्यसबाहेक स्थल नाकाहरुबाट भित्रिने यस्ता टिभीहरुको कति छन् भन्ने कुरा स्वयम भन्सार विभागसँग समेत अद्यावधिक छैन ।

त्रिभुवन विमानस्थलबाटै नेपाली सेनादेखि प्रहरी, निजामती कर्मचारीका उच्च अधिकारी र राजनीतिक नेतृत्वले ल्याउने गरेका साना ठूला कुनै पनि टेलिभिजनको रेकर्ड र जाँचसमेत नहुने भएकाले झिटी गुन्टाका नाममा वा अनधिकृतरुपमा बाहिरबाट भित्रिने टेलिभिजनहरुको संख्या दैनिक दुईसय भन्दा बढि हुनसक्ने तथ्यलाई सरकारी पक्षले समेत अस्वीकार गर्न सकेको छैन ।

नियमानुसार विदेशमा लगातार १२ महिनासम्म बसेर फर्किनेहरुले ३२ इन्चसम्मको जुनसुकै ब्राण्डको एउटा टेलिभिजन ल्याउँदा कर नलाग्न । त्रिभुवन विमानस्थलबाट यसरी ल्याइने टेलिभिजनहरुको संख्या मात्रै दैनिक डेढ सयको हिसावले बर्षको ५४ हजार ७५० संख्या हुन्छ । बजार मूल्यका हिसावले प्रतिगोटा सरदर २७ हजारका दरले करिव डेढ अर्ब रुपियाँ हुन्छ ।

विशेषगरी कामका लागि बाहिरिएका नेपालीहरुले भन्सार छुट पाइने लोभले आउँदा एउटा टिभी बाकेर आउने प्रवृत्ति बढि छ । यसरी आउने टेलिभिजनहरुमा धेरैजसो क्रमसः सामसङ, सोनी, एलजी भेटिन्छन भने बाँकी नामै नसुनेको ब्राण्डहरु रहन्छन् । भन्सार छुटका कारण त्यस्ता टेलिभिजनहरु नेपालमा भन्दा केही सस्तो पार्ने भए पनि ल्याउँदा टुटफुट हुने ठूलो जोखिम मोल्नुपर्ने बाध्यता उपभोक्तालाई छ ।

त्यसरी ल्याइका टेलिभिजनमा कुनै वारेन्टी र बिक्रीपछिको सेवा दिने कम्पनी नहुने हुँदा यदी बिग्रिहाले त्यसको सम्पूर्ण जोखिम उपभोक्ता आफैले बहन गर्नुपर्ने बाध्यता हुन्छ । टिभी मर्मतका लागि खुलेका पसलेहरुले मर्मतका नाममा चर्को मूल्य अशुल्ने, लामो समयसम्म झुलाएर मर्मत गर्ने, गुणस्तरीय मर्मत नगरी फेरि बिग्रिने समस्याले गर्दा थोरै सस्तोको लोभमा बाहिरबाट ल्याइएका टेलिभिजनहरु उपभोक्ता आफैलाई घाँडो हुने गरेको छ ।

अर्कोतर्फ विदेशबाट ल्याइएको जुनसुकै ब्राण्डको टेलिभिजनहरुलाई स्वदेशी कम्पनीहरुले दायित्व नलिने भएकाले बिग्रिएमा मर्मतका लागि सम्वन्धित मुलुकमा लान सहज पनि हुँदैन । कसैलाई गुनासो गर्ने ठाउँ पनि हुँदैन । आफूले भोगचलन गरिरहेको भन्दा पनि कर छुट पाइने लोभले नेपाल आउँदा नयाँ किनेर आउने र नेपालमा बिक्री गर्ने प्रवृत्तिले ग्रे मार्केटलाई झन प्रोत्साहन गरेको छ ।

विदेशी टेलिभिजनहरुको निर्वाध प्रवेशले एकाधिर राज्यलाई राजश्वमा नोक्सानी भइरहेको छ भने अर्कोतर्फ ठूलो लगानीमा स्वदेशमा त्यसैको उद्योग व्यवसाय गरिरहेका व्यवसायीहरु मारमा परेका छन् । कर तिर्न नपर्ने लोभमा आफूले उपभोग गरिरहेको नभई नयाँ टिभी किनेर आउनेहरुमा जागरुपता नहुँदा विप्रेषण (रेमिटान्स) आयमा समेत असर पुग्दै आएको छ ।

बार्षिक ५० हजार भन्दा बढि टेलिभिजनहरु नेपाल भित्रिँदै गर्दा आन्तरिक उत्पादनमा कमि हुनुका साथै त्यसले रोजगारी सिर्जना, आर्थिक गतिविधिमा वृद्धि गर्ने कुरामा समेत असर पुग्ने गरेको छ । अर्कोतर्फ शान्ति मिशनदेखि सभा सम्मेलन आदि जस्ता कार्यक्रमहरुमा विदेश भ्रमणमा गएका सरकारी कर्मचारी, उच्च प्रहरी अधिकृत र नेताहरुसम्मबाटै ३२ इन्चभन्दा ठूला टेलिभिजनहरु कर नतिरी नेपाल भित्रिने गरेको देखिएको छ ।

हवाई र स्थलमार्ग दुवैबाट अनधिकृतरुमपा भित्रिने यस्ता टेलिभिजनहरु नियन्त्रण गर्ने हैसियत भन्सार विभागदेखि अध्यागमन कार्यालय र सरक्षाकर्मीहरुले अहिलेसम्म राख्न सकेका छैनन् । यसले गर्दा नेपालमा टेलिभिजनको अवैध कारोबारलाई बढाउन र स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्न बल मिलेको छ ।

Advertisement

Advertisement

Advertisement