अर्थविद् दाहालको सुझाव, ‘२५ बर्ष पछिका कुरा किन गछौ ? ५ बर्षमा के के गर्ने हो त्यो भनन्’

Advertisement

काठमाडौंः अर्थविद डा. मदन दाहालले पाँच बर्षका लागि काम गर्न जनताको म्याण्डेट पाएको सरकारले पच्चिस बर्षपछिको कुरा गर्न नसुहाउने भन्दै पाँच बर्षमा गर्नसक्ने योजना बनाउन सुझाव दिएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै दाहालले २५ बर्षपछि आर्थिक संवृद्धिको प्रत्याभूति गर्ने भन्दा पाँच बर्षमा के के गर्न सकिन्छ ? त्यसको स्पष्ट किटान गर्दै प्रतिवद्धता व्यक्त गर्न, मुलुकको आर्थिक स्थितिबारे स्वयतपत्र जारी गर्न, विद्यमान विसंगतिहरुलाई निराकरण गर्न अल्पकालिन र दीर्घकालिन व्यवहारिक एवं प्रतिफलमूलक रणनीति तयार गर्न सल्लाह दिएका छन् ।

संघीयतामा आर्थिक स्रोतको सही व्यवस्थापन हुन नसके मुलुक सोमालिया हुनसक्ने भन्दै चिन्ता जनाउँदै आएका उनले वित्त आयोग चाँडै गठन गरेर त्यसको सुझावका आधार केन्द्र, प्रदेश र स्थानीय तहको स्रोत व्यवस्थापन गर्नुपर्ने बताउँदै आएका छन् ।

डा. दाहालले आर्थिक स्रोत नखोजी नेपाल जस्तो मुलुकमा केन्द्रदेखि प्रदेशसम्म सयौंको संख्यामा थपिएका मन्त्री र साँसदको तलव, भक्ता र सुविधाका लागि चाहिने ठूलो आर्थिक व्यवभारले मुलुकको अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै जहाँ जनप्रतिनिधिहरु इमान्दार नभई भ्रष्टाचारमा डुब्छन, त्यहाँका जनताले दुःख र कष्ट भोग्नुपर्ने बताएका छन् ।

डा. दाहालले अघि सारेको विकासको अरल अर्थशास्त्र यस्तो छः

१ स्वावलम्वी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै संभाव्य र प्राथमिकता प्राप्त क्षेत्रमा उत्पादन बढाउँ र मुलुकलाई विदेशी वस्तुको बजार हुनबाट क्रमशः जोगाउँ ।

२ तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्रमा उद्योग स्थापना गर्दै रोजगारी र निर्यात प्रवर्द्धन गरौंं र वैदेशिक मुद्राको संचिति बढाऔं ।

३ नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूको सहयोगमा साना तथा घरेलु र मध्यमस्तरका उद्योगमा निजी क्षेत्रको लगानी आकर्षण गर्दै ठूला उद्योगहरूका साथै पर्यटन र भौतिक पूर्वाधार विकासको निमित्त प्रत्यक्ष वैदेशिक लगानी आकर्षण गरेर उच्च आर्थिक वृद्धिदर हाँसिल गरौं ।

४ शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तरमा अभिवृद्धि गर्दै स्वदेशमा मानव संशाधनको उपयोगमा अभिवृद्धि र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्दै उदारीकरण र विश्वव्यापीकरणवाट फाईदा उठाउँ ।

५ दुई ठूला छिमेकी राष्ट्रहरू भारत तथा चीनसँग बराबरी सामिप्यता (Equi Proximity) को सम्वन्धलाई प्रवर्द्धन गर्दै आपसी आर्थिक सहयोगको क्षेत्रलाई विस्तार गरौं ।

६ अनुशासन पर्वको घोषणा गर्दै सबै तहका भ्रष्ट्राचारीलाई कडाभन्दा कडा कारवाही गर्न भ्रष्ट्राचारसम्वन्धि एउटा छुट्टै सर्वाधिकार सम्पन्न उच्चस्तरीय विशेष न्यायाधिकरण (Special Tribunal) गठन गरौं र केन्द्रदेखि, प्रदेश र स्थानीय निकायसम्म मितव्ययीताको सिद्धान्त प्रतिपादन गर्दै व्यवहारमा चरितार्थ गरौं ।

७ नेपाली अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय र विश्व अर्थतन्त्रसँग प्रभावकारी ढंगले जोडेर उच्च, दीगो र समावेशी आर्थिक वृद्धिदर हाँसिल गर्दै सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकहरूको तहमा स्तर वृद्धि गर्दै क्रमशः आर्थिक रूपले सम्वृद्धशाली राष्ट्र निर्माण गरौं ।

Advertisement

Advertisement

Advertisement